मदन भण्डारी विश्वविद्यालय ३ ठाउँमा, कुन ठाउँको तयारी कहाँ पुग्यो ?

मदन भण्डारी विश्वविद्यालय ३ ठाउँमा, कुन ठाउँको तयारी कहाँ पुग्यो ?

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी-

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुर, काठमाडौं र काभ्रेमा स्थापना गर्ने तयारी भइरहेको छ । विश्वविद्यालय अन्तर्गत विभिन्न संकायका लागि मकवानपुरको चित्लाङ, काठमाडौंको कागेश्वरी मनोहरा र काभ्रेको पाँचखालमा तयारी अघि बढेको हो ।

गत साउन १२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विश्वविद्यालय स्थापनाका लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटमा एक अर्ब १० करोडको बजेट छुट्याइएको छ ।

चित्लाङमा ‘ईओआई’ सूचना प्रकाशन

मकवानपुरको थाहानगरपालिका ९ स्थित चित्लाङमा विश्वविद्यालय स्थापनाको तयारी तीव्र रूपमा अघि बढेको छ । विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिले चित्लाङमा विश्वविद्यालय स्थापनाका लागि गत पुस १ गते ईआईए प्रतिवेदन तयार पार्न सूचना समेत प्रकाशन   गरिसकेको छ ।

प्रस्तावित विश्वविद्यालयका ११ जना परामर्शदाता र प्राविधिकको समूहले स्थलगत निरीक्षण गरी निर्माणस्थलमा सूचनापाटी लगाएका थिए । अहिले त्यहाँ प्रारम्भिक कार्यकक्ष निर्माणको काम शुरु गरिएको छ । विश्वविद्यालय निर्माणको लागि आवश्यक ७ सय ४० रोपनी जग्गा स्थानीयले सरकारलाई उपलब्ध गराएका थिए ।

निर्माणस्थल निरीक्षणका लागि पुगेको परामर्श तथा प्राविधिक टोली

गत असोजको दोस्रो साता चिनियाँ उच्चस्तरीय ९ सदस्यीय प्राविधिक टोलीले मकवानपुरको चित्लाङ पुगेर स्थलगत अध्ययन अवलोकन  गरेको थियो । विश्वविद्यालयको संरचना निर्माण गर्न करिब ४३ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ । स्थानीय शिक्षासेवी बुद्धरत्न मानन्धरले विश्वविद्यालय निर्माणका लागि स्थानीयले भरपुर सहयोग गरिरहेको जानकारी दिए । थाहा नगरपालिका ९ का वडाध्यक्ष परशुराम श्रेष्ठले  विश्वविद्यालय बन्ने कुराले स्थानीयमा खुसी छाएको बताउँदै सक्दो सहयोग गरिरहेको जानकारी दिए ।

थाहानगरको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको १७९ रोपनी १२ आना दुई पैसा जग्गा उक्त विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय सरकारले गरेको थियो । असार २५ गते सम्पन्न थाहानगरको पाँचौ नगरसभाबाट विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषद्ले गरेको निर्णयको स्वागत गर्दै संघीय सरकारलाई धन्यवाद ज्ञापन गरेको थियो।

चित्लाङको स्थलगत अध्ययनको क्रममा चिनियाँ टोली

यसअघि यो विश्वविद्यालय अन्यत्र सार्न खोजेको समाचार सार्वजनिक भएपछि मकवानपुरका सांसद विरोध खतिवडासहित नगरप्रमुख लवशेर विष्ट, विश्वविद्यालय विकास समितिका अध्यक्ष प्रा डा. राजेन्द्रध्वज जोशी, नेकपाका नेताहरू विष्णुप्रसाद ढकाल, विष्णु विष्ट, अरुण रायमाझी, अच्युतमप्रसाद ढकाल, राजु नापित, सानुकाजी गोपाली, पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, वडा अध्यक्षहरू  लगायतको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर अनुरोध पत्र बुझाएका थिए । अनुरोध पत्र बुझ्दै मन्त्री पोखरेलले विश्वविद्यालय चित्लाङमा बन्ने कुरामा ढुक्क हुन आश्वासन दिएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेललाई अनुरोध पत्र बुझाउदै थाहा नगरपालिकाका प्रमुख विष्ट, संसद खतिवडासहितको टोली

गत साउन १२ गते शिक्षामन्त्री पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । विधेयकको परिच्छेद २ को ३ मा विश्वविद्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङमा रहनेछ भन्ने उल्लेख छ ।

विश्वविद्यालय बन्न लागेको क्षेत्र काठमाडौंको थानकोटबाट १० किमी दूरीमा रहेको छ । केन्द्रीय राजधानी काठमाडौँबाट नजिक र पर्यटकीय गन्तव्य भएकाले पनि चित्लाङमा विश्वविद्यालय बन्नुपर्ने स्थानीयको भनाइ छ ।

पाँचखालमा ५ सय रोपनी जग्गा छुट्टयाइयो

विश्वविद्यालय स्थापनाका लागि काभ्रेको पाँचखालमा पनि जग्गा छुट्टयाइसकिएको छ । नगरपालिकाको वडा नम्बर २ स्थित अनेकोटमा ५ सय रोपनी जग्गा छुट्टयाइएको  हो ।

अनुगमनमा पुगेका संचार, सूचना तथा प्रविधिमन्त्री बास्कोटा

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विश्वविद्यालय अन्तर्गत कृषि र मेडिकल संकायका लागि पूर्वाधार निर्माणको प्रक्रिया शुरु भएको जानकारी दिए ।  “यहाँ कृषि र मेडिकल संकायका लागि पूर्वाधार निर्माण हुन लागेको हो ।” नगर प्रमुख खरेलले भने ।

नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारले पनि विश्वविद्यालय निर्माण पक्कापक्की भएको बताइन् । चित्लाङको अध्ययन गरी फर्केको चिनियाँ उच्चस्तरीय प्राविधिक टोलीले यो जग्गाको पनि अनुगमन गरेका थिए । संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले पनि यो ठाउँ को निरीक्षण गरेका थिए  ।

यो ठाउँ काठमाडौँ उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको छ ।

कागेश्वरी मनोहरामा ‘डिपीआर’

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका पनि प्रस्तावित मदन भण्डारी प्रोऔधोगिक विश्वविद्यालय अन्तर्गत संचालन हुने शैक्षिक प्रतिष्ठानका लागि जग्गा छुट्टयाइएको छ । नगरपालिकाले वडा नम्बर ४ मा रहेको एक सय ५६ रोपनी जग्गा दिने निर्णय गरेको थियो । चिनियाँ प्राविधिक टोलीले यो जग्गाको पनि स्थलगत अध्ययन गरेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका ४ का वडाध्यक्ष भाइकाजी अधिकारीले स्थानीयले सर्जमिन गरेर जग्गा उपलब्ध गराएको बताए । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले विश्वविद्यालय निर्माणका लागि ‘डिपीआर’ तयार पार्ने क्रममा रहेको जानकारी दिए । अत्तरखेलमा सञ्चालित मदन भण्डारी मेमोरियल विद्यालयलाई अब बन्ने विश्वविद्यालयमा स्थानान्तरण गर्ने र प्राविधिक विश्वविद्यालय संचालन गर्ने तयारी भइरहेको छ ।

विधेयकमा के छ ? 

संसदीय समितिमा छलफलका क्रममा रहेको यस सम्बन्धी विधेयकमा विश्वविद्यालयको प्रधान कार्यालय काठमाडौँ उपत्यका वा उपत्यका  आसपासका उपयुक्त स्थानमा रहने उल्लेख गरिएको छ । यो विश्वविद्यालयको नाम मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय हुने भए तापनि प्राय: सबै संकायको अध्ययन अध्यापन हुने विधेयकमा उल्लेख छ ।

‘विज्ञान तथा प्रविधि, मनविकी, तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यालगायतका विषय र क्षेत्रमा मुलुकभित्र विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको निकासमा थप योगदान पुर्‍याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ ।’ विधेयकको दफा ३ को उपदफा १ मा भनिएको छ । विधेयक अहिले प्रतिनिधि सभाको संसदीय समितिमा छलफलको क्रममा छ ।

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा परी निधन भएको थियो । जननेता भण्डारीको सम्मानमा सरकारले यो विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

Skip This
Skip This
Logo