पुनःनिर्माणको प्रगति ८६ प्रतिशत

पुनःनिर्माणको प्रगति ८६ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पुनःनिर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी दिए ।

भूकम्पले भत्किएका आठ लाख १६ हजार ४७१ घर पुनःनिर्माण गर्नुपर्नेमा सात लाख ८० हजार १६५ परिवारले अनुदान सम्झौता गरेको उनले बताए । सात लाख ७० हजार २६१ भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार बुझेका छन् । ०७२ माघ २ गते पुनःनिर्माणको शुरुवात गरेको रानीपोखरीको पूर्ननिर्माण आगामी वैशाख १२ गते नै सक्ने गरी काम अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सांसदहरुलाई बताए ।

समिति सभापति दिलकुमारी थापा रावल (पार्वती) ले पुनःनिर्माणको समग्र अवस्था सकारात्मक नै रहेकाले केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्न प्राधिकरणलाई निर्देशन दिइन् । सांसद सुरेन्द्रराज पाण्डेले अन्य स्थानको पुनःनिर्माण सकारात्मक देखिए पनि गोरखा दरबारको काम शुरु भएको दुई वर्ष बित्दासमेत अझै भत्काएरै नसकिनुका कारण के हो भनी प्रश्न राखेका थिए । गोरखाको लाप्राकस्थित गुम्सीपाखामा निर्माण भइरहेको एकीकृत बस्तीमा स्थानीयवासी अझै सर्न नमानेकाले के गर्ने भन्ने विषयमा प्राधिकरणले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सांसद खिमलाल भट्टराईले विदेशबाट आउने सहयोग, एकीकृत बस्तीमा बस्ने मान्छे भएनन् भन्ने गुनासो आइरहेकोतर्फ प्राधिकरणको चनाखो हुनुपर्ने बताएका थिए । बैठकमा सांसदहरु धना खतिवडा, कोमल वली, रामचन्द्र राई र रमेशप्रसाद यादवले पुरातात्विक सम्पदा रातो मच्छिन्द्रनाथ काम शुरु भएको चार वर्षभन्दा बढी समय सकिँदा पनि अलपत्र बनेको, स्वास्थ्य संस्थाको पुनःनिर्माणमा पनि हुनुपर्ने जति काम हुन नसकेको बताएका थिए ।
रासस

Skip This
Skip This
Logo