न्युयोर्क । अमेरिकाका पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रूपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन् । उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरू तथा अमेरिकी समूहका अरू सहयात्रीहरूसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य कमाण्डरको हत्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए ।
इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका विरुद्धमा राष्ट्रिय रूपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पर्थ्याे– उनले भने । अमेरिकाका विरुद्धमा त्यस्तो धम्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटाहरू हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले हत्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरूलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए । उनले भने– हत्याबाट समस्याको समाधान खोज्नु हुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका विरुद्धमा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवार को हुन्छ ? एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रूपमा युद्धको नजिक अमेरिकालाई पनि पुर्याएको उनले आरोप लगाए ।
पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको पनि बताए । उनले भने– विरोधीहरूलाई हराउने र उनीहरूलाई कूटनीतिक रूपमा तल पार्ने यसरी युद्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो ।
अमेरिका इरानसँग युद्ध चाहन्छ– इरानी विदेशमन्त्री
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग युद्ध चाहेको अराोप लगाएका छन् । उनले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए ।
विदेशमन्त्री जरिफले सुलेमानीको हत्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरूलाई नै आतंककारी क्रियाकलाप भनिने बताए । उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने पनि बताए । उनले भने– हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य कमाण्डरको हत्याको बदल लिनेछौँ । रासस/सिन्ह्वा































प्रतिक्रिया