विसं. २००९ सालमा नेपालमा स्थापना भएको संस्था स्काउट नेपाल बालबालिका तथा युवा वर्गलाई स्काउटिंग तथा गाइडिंग गरिरहेको संस्था हो । नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकारिक मात्रामा सहभागी गराई तिनीहरूलाई शारीरिक, मानसिक र बौद्धिक विकास गरि उनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । यहि संस्थासँग आबद्ध रहेर निरन्तर सेवामा खटिरहेका स्काउट नेपालका निर्देशक रामप्रसाद भट्टराईसँग स्काउटले पछिल्लो समय गरिरहेका काम र योजना बारे केन्द्रबिन्दुका लागि सृजना राई र अनिस मिजारद्वारा गरिएको ५ प्रश्न :
स्काउटले अहिलेसम्म कोभिड नियन्त्रणका लागि मुलुकभर के के गर्यो र के के गर्दैछ ?
अभियानात्यक रुपले एसएमएस रिफोर्समेन्ट क्याम्पियन गरिरहेका छौं । अहिले मानिसहरुमा कोरोनाको त्रास नै नभएका कारण त्यसको असर विभिन्न क्षेत्रमा परिरहेको छ । विद्यालयहरु खुल्न सकेका छैनन् । यसलाई बेवास्ता गर्नाले मृत्युदर बढीरहेको र परीक्षण घटिरहेको अवस्था छ । त्यसैले यसबाट सचेत हुनका लागि सामाजिक दूरी कायम गर्न नसके पनि मास्क र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने स्काउटले आम जनसमुदायहरुलाई सातै प्रदेशका मुख्य मुख्य शहरहरुमा, बढी भिडभाड हुने क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अभियान चलाइरहेका छौं । जसमा मुख्य शहर भएका २० वटा जिल्लाका ६० भन्दा बढी स्थानमा अभियान सञ्चालन गरेका छौं । यसरी आम सर्वसाधरणलाई चेतना दिने काम भइरहेको छ ।
यस्तै लकडाउनको समयमा पनि खान नपाएका सडकका मान्छेहरुलाई सकेको सहयोग गर्दै आयौं । त्यसपछि नेपालमा कोरोनाका कारण पहिलो मृत्यु भएकी व्यक्तिको शव व्यवस्थापन गर्ने कुरामा अरु सबै पछाडी हटेको अवस्थामा पनि स्काउटकै सदस्यहरुले शवको व्यवस्थापन गरे । त्यो प्रक्रिया चलिनै रह्यो । त्यस बीच पनि स्वाव कलेक्सनदेखि विभिन्न ठाउँबाट स्वाव ट्रान्सपोर्ट गरेर टेकुसम्म ल्याउने, कोभिड संक्रमित भएको घरमा गएर स्वाव कलेक्सन गर्नेदेखि लिएर आइसोलेसन सेन्टर बनाउने क्वारेन्टिन विकास गर्ने, हस्पिटलहरुमा आइसोलेसनको लागि बेडको व्यवस्थापन गर्ने यी सबै कुराहरुमा स्काउटहरु देशैभरी अगाडि बढेको छ । जसमा नियमित रुपमा स्वयंसेवक परिचालन हुने कार्यक्रमहरु गरिनै रहेका छौं । यहि चौमासिकमा देशभरी करिब १५ हजार भन्दा बढी स्वयंसेवक परिचालन गरिसकेका छौं ।
उपत्यका लगायतका जिल्लाको हकमा कति टोली परिचालन गरिएको छ ?
हामी आफैंले भिडभाड गर्न हुँदैन भन्दै प्रचार गरिरहँदा हामी आफैं पनि भिडभाड बाहिर जान सक्ने स्थिति छैन । प्रत्येक जिल्लामा २० जना स्वयंसेवक परिचालन गर्ने भनेका छौं । २० जनामा कहीं ४, कहीं ५ जनाको समुह बनाएर प्रदेश जिल्ला खटाउने छौं । जसमा प्रदेश १ मा झापा, मोरङ, सुनसरी, प्रदेश २ मा रौतहट, पर्सा र धनुषा , बागमतीमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, मकवानपुर, गण्डकीमा कास्की, त्यसैगरी लुम्बिनी प्रदेशमा रुपन्देही, नवलपरासी र बाँके छ । कर्णालीमा दैलेख र सुर्खेत छ । सुदुरपश्चिममा कैलाली कञ्चनपुर छन् । यी भनेका नेपालका मुख्य शहर भएका जिल्लाहरु हुन् ।
कोरोना महामारी सुरु भएको १० महिनाको अवधिमा स्काउटले गरेको कामलाई लिएर कस्ता खालका प्रतिक्रियाहरु आइरहेका छन् ?
आम–जनसमुदायबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । तर, सरकारप्रतिको आक्रोश वा राज्यप्रतिको आक्रोश त्यस्ता अधिकारीहरुप्रतिको आक्रोश पनि स्काउट स्वयंसेवकहरुले सुन्नु परिरहेको छ । स्काउटले नेपाल सरकारकै मातहतमा रहेर यी कार्यक्रमहरु सञ्चालन गरेका कारण कतिपय ठाउँहरुमा आक्रोस तथा जनसमुदायको गुनासोहरु पनि आउने गर्छ । त्यसलाई स्काउटले त्यस्तो ठूलो रुपमा भने हेरेको छैन ।
कोरोना महामारी फैलिएको सुनिसकेपछि स्काउटले लकडाउन सुरु हुनु भन्दा अगाडिदेखि नै क्रियाकलाप सुरु गरेको थियो या सम्भवतः नेपालमै पहिलो पटक थियो । स्काउटले ह्याण्ड वासिङ् स्टेशन भनेर लकडाउन पूर्व चैतको १ गतेदेखि ११ गतेसम्म देशका करिब १ सय स्थानहरुमा ह्याण्ड वासिङ् स्टेशन सञ्चालन गरेको थियो । लकडाउनकै क्रममा पनि स्काउट सुतेर बसेन । त्यसैले पनि समग्रमा स्काउटले गरेको काममा आमजनमानसको एकदमै राम्रो प्रतिक्रिया छ । कोही नआउँदा पनि स्काउट आयो भन्ने खालको कुरा समेत आएको छ ।
आजका मितिसम्म स्काउट दुःखको साथी हो भन्ने सन्देश साथै अनुभुति दिनुभएको छ, यसरी स्थापित भइरहँदा दुःखको घडीमा बाहेक अरु के के काम गरिरहेको छ ?
वास्तवमा स्काउटले गर्ने काम भनेको स्वयंसेवा नै हो । स्काउटिङको एउटा सानो सेक्टर मात्र स्वयंसेवा हो । तर, स्काउटको मुख्य उद्देश्य भनेको बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक, सामाजिक रुपमा तथा संवेगात्मक भावनाको विकास गराएर उनीहरुलाई एउटा सक्षम नागरिक बनाउने जसलाई हामी एक्टिभ सिटिजेन भन्छौं । एउटा सक्रिय नागरिक तयार गरेर उनीहरुलाई राष्ट्र निर्माणमा लगाउने यो संस्थाको प्रमुख उद्देश्य हो । त्यसैले हामीले यसलाई एजुकेशनल मुभमेन्ट भन्छौं । यो हाम्रो सामाजिक अभियान होईन, समाजसेवाको अभियान होईन, यो हाम्रो शैक्षिक अभियान हो ।
बालबालिका, किशोरकिशोरी तथा युवाहरुलाई औपचारिक शिक्षा बाहेकको अनौपचारिक शिक्षाको माध्यमबाट जीवनको एउटा सक्रिय र सक्षम नागरिक उत्पादन गर्ने स्काउटको मुख्य उद्देश्य हो । अबको हाम्रो उद्देश्य भनेको समुदाय संलग्नतासँगसँगै विद्यालय–विद्यालयमा, गाउँ–गाउँमा रहेका बालबालिकाहरुलाई स्काउट क्षेत्रको पहुँचमा ल्याउने योजना छ ।
स्काउटमा काम गर्न चाहने बालबालिका, किशोरकिशोरी तथा युवाहरु स्काउटसम्म पुग्ने माध्यमहरु के के छन् कसरी जान सकिन्छ ?
यो एकदम सहज छ । अन्तर्राष्ट्रिय स्तरमा कतिपय देशहरुले स्काउटलाई अनिवार्य गराएका छन् । औपचारिक शिक्षासँगै सबै बालबालिकाको पहुँचमा स्काउट गएको छ । नेपालको हकमा अहिलेसम्म यो अनिवार्य छैन । यसरी विद्यालयहरुमा अनिवार्य नभएका कारण जति विद्यालयहरुले ऐच्छिक रुपमा स्काउटका क्रियाकलापहरु राख्न चाहनेहरुले भने गरिरहेका छन् । तर, कुनैपनि विद्यार्थी वा बालबालिका युवाहरु म स्काउट अभियानमा समाहित हुन चाहान्छु, म स्काउटिङ गर्न चाहन्छु भन्नेहरुले हामीसँग समुदायस्तरका एकाइहरु पनि छन् । जहाँ जोडिएर स्काउटिङ अभियानमा समावेश हुन सक्नु हुन्छ । जसका लागि अहिलेसम्म केन्द्रिय कार्यालयमा सम्पर्क गर्दा हुन्छ वेवसाइट हेर्दा हुन्छ । इमेल गर्दा हुन्छ र अहिले प्रदेशका कार्यालयहरु पनि बनाएका छौं ।





























प्रतिक्रिया