गण्डक जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन शुरु

गण्डक जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन शुरु

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्य अन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा गत कात्तिक १२ गतेबाट पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो ।

गत मङ्सिर ३० गतेबाट नहरमा पानी आएपछि पुसको पहिलो साताबाट केन्द्रमा विद्युत् उत्पादन शुरु भएको कार्यालयका इञ्जिनीयर अनिल शाहले जानकारी दिए । केन्द्रमा हाल दैनिक झण्डै तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौँदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

केन्द्रमा जडित तीन टर्वाइनमध्ये दुई टर्वाइन बिग्रिएर पूर्णरूपमा थन्किएका छन् भने २ नं टर्वाइन मात्रै सञ्चालनमा रहेको छ । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार पश्चिम गण्डक नहरमा पानी खोल्ने वा नहरमा पानी छोड्ने पूर्ण अधिकार भारतीय पक्षसँँग निहित छ । केन्द्रमा रहेको मेसिनरी उपकरण पुरानो हुँदै जाँदा एउटा टर्वाइनले पनि क्षमता अनुसार विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले जनाएको छ ।

केन्द्रमा एउटा टर्वाइनका लागि नहरमा चार हजार क्युसेक पानी आवश्यक हुन्छ । नहरमा आवश्यकता अनुसार पानी आए पनि र राम्रा उपकरण नहुँदा अहिले सञ्चालनमा रहेको एउटा टर्वाइनबाट समेत पूर्णरूपमा उत्पादन हुन सकेको छैन । करिब ४० वर्षदेखि जडान भएका केन्द्रका अधिकांश उपकरणहरु मर्मत वा फेर्नुपर्ने अवस्थामा रहेका छन् ।

दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी सञ्चालनमा ल्याउन करिब एक अर्ब बराबरको आर्थिक लगानी हुन आवश्यक देखिएको केन्द्रले जनाएको छ । सो केन्द्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन यस क्षेत्रका उद्योगी व्यवसायी आर्थिक लगानी गर्न तयार रहेको यस अगावै बताउँदै आएका छन् ।

सो केन्द्रमा रहेको सवस्टेशनमार्फत विद्युत् भारतको रामनगरमा आयात–निर्यात हुने तथा १३२ केभीमा बुटवल र ३३ एवं ११ कबाट परासी क्षेत्रमा वितरण गरिँदै आएको छ । सो विद्युतगृह सन् १९७९ मा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो ।

भारत र नेपालको सम्झौता अनुसार विद्युतगृह सन् १९८१ मा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब ३२ बिघा क्षेत्रफलमा फैलिएको उक्त विद्युत् केन्द्रका अधिकांश भवन र संचरना तथा मेसिनरी उपकरण जीर्ण भइसकेका छन् । केन्द्रमा हाल स्थायी र ज्यालादारी गरी करीब ५० कर्मचारी कार्यरत छन् ।
रासस

Skip This
Skip This
Logo