काठमाडौं । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ ।
काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिन् । भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् । त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन्। सांस्कृति तथा प्राकृतिक हिसाबले विभिदिकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताइन्। उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकिय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन् ।
उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए । उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे । हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए । विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरू नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरू, विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरू हेर्न पनि नेपाल आउनुपर्ने बताए ।

शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति राखिएको छ ।

आजै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने जनाइएको छ । सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवर्द्धनका साथै पूर्वाधार विकासलाईसँगै अघि बढाएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो । त्यस्तै सन् २०११ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्तान विन्दुका रुपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए । भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाइएको उल्लेख गरे ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति छ ।






























प्रतिक्रिया