काठमाडौं । केही समयअघि काठमाडौंमा एक ‘र्याम्प शो’ गर्ने भन्दै अग्ला कदका युवतीको खोजी सुरु भयाे । काठमाडौंमा प्रेममाया तामाङले त्यसको संयोजन गरेकी थिइन् । राजधानीको एक फेसन डिजाइन हाउसले ती महिलाले खोजेअनुसारकी युवती उपलब्ध गराउने बताएको थियो । युवतीको उचाइ साढे ५ फिटदेखि ६ फिटसम्म भनिएको थियो ।
प्रहरीका अनुसार डिजाइन हाउसले युवतीको खोजी सुरु गर्यो । खोजी गर्ने क्रममा एक युवती सम्पर्कमा आइन् । काठमाडौंमा उनको शरीरको नाप लिइयो । सुरुमा काठमाडौंमै कार्यक्रमका लागि भन्दै युवतीलाई तयार गरिए पनि केही दिनपछि विराटनगरमा कार्यक्रम गर्ने भनियो ।
त्यसपछि नै उनले शंका लागेर यसबारेमा प्रहरीलाई खबर गरिसकेकी थिइन् । त्यसपछि सबै घटनालाई प्रहरीले गम्भीरताका साथ हेरेका थिए । बिहीबार महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार सम्मेलन गर्दै माेडल नभएर भारतमा पुर्याएर एक युवतीको बलि दिन लागेको घटनामा छनाेट भएकी माेडल र प्रहरीको चलाखीले गम्भीर अपराध टरेको प्रहरीले पत्रकार सम्मेलन गरेर जनाकारी गरेकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलवार यिनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्णा तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीया प्रेममाया तामाङ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए। तामाङ काठमाडौंबाट पक्राउ परेकी हुन्।
बिहारको मन्दिरमा रहेका एक बाबाले एक ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली व्यक्तिहरुलाई परिचालन गरेको र युवती ल्याउने व्यक्तिहरूलाई मोटो रकम दिने आश्वासन दिई केही रकमसमेत दिइसकेको प्रहरीले बताएको छ ।
उनीहरुको प्रस्तावमा स्वीकार गरेकी युवतीले पछि शंका लागि महानगरीय प्रहरी परिसर टेकुमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरोहमाथि निगरानी बढाएको थियो । जोगबनी हुँदै बिहारको मन्दिरतर्फ लैजान लागिएको अवस्थामा गिरोहका ७ जना सदस्यलाई पुस ७ गते राति साढे ९ बजे विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो । घटनामा संलग्न भएकाहरुले युवतीलाई भारत पुर्याएवापत आफूहरूलाई राम्रो रकम दिने प्रलोभन दिइएको भए पनि के र किन युवती चाहिएको हो थाहा नभएको बताएका छन् ।
प्रहरी स्रोतका अनुसार भारत बिहारस्थित एक मन्दिरका बाबाले ६ फिट अग्लो उचाइ भएकी युवती मगाएका थिए । उनले युवती मासु र रक्सी खाने हुन नहुने, महिनावारी नभएको समय हुनुपर्ने र शरीरमा कुनै खत वा घाउचोट नभएको हुनुपर्ने बताएका थिए ।
युवती ल्याएवापत मोटो रकम दिने भनेपछि विराटनगर ८ मोरङका ५१ वर्षीय दिलिप पोद्दारले यो सबै प्रपञ्च रचेका थिए । मुख्य योजनाकार दिलिप पोद्दारले भारत बिहारको मन्दिरको बाबालगायत अन्य व्यक्तिसँग सम्पर्क गरेको देखिएको छ।
डकुमेन्ट्री निर्माणको विषय सबै बनावटी योजना भएको र युवतीलाई भारत पुर्याउन रचिएको नाटकमात्रै भएको समेत प्रहरीको दाबी छ ।पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।































प्रतिक्रिया