काठमाडौं । विगत ७ वर्षदेखि हरेक अंग्रेजी महिनाको पहिलो दिन जनवरी एकलाई नेपालमा टोपी दिवसका रूपमा मनाइने गरिएको छ । ०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल र गुन्युचोलीलाई हटाएपछि नेपालीको मौलिक पहिचान राष्ट्रिय पोशाक राखिनुपर्ने माग सहित नेपाली टोपी दिवसको जन्म भएको हो । जनवरी एकको सन्दर्भ पारेर हरेक वर्ष टोपी दिवस मनाउँदै आएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश:
प्रश्न १
नेपाली टोपीदिवसको जन्म कसरी भयो ?
०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली राष्ट्रिय पोशाक हटाएपछि हामी राष्ट्रप्रेमी युवाहरूले राष्ट्रिय पोशाकको माग गर्दै यो दिवस शुरु गरेका हौँ ।
प्रश्न २
यसपटकको तयारी के छ त ?
यसपटक पनिहामीले विगत ६ वर्षदेखि मनाउँदै आएको नेपाली टोपीदिवस भव्यताका साथ मनाउने तयारी गरेका छौं । जनवरी १ (पुस १६ गते) का दिन विहान ७ बजे माइतीघरमा जम्मा भएर प्रभातफेरी गर्ने हाम्रो तयारी छ । यसपटक हामी सरकारको नेपाल भ्रमण वर्षको अभियानलाई समेत सहयोग पुग्ने गरी कार्यक्रम गर्दै छौं ।
प्रश्न ३
नेपाली टोपी दिवस जनवरी एकमा नै किन त ? किन नेपाली मितिमा गर्न सकिएन ?
पछिल्लो पुस्ता नेपालीपन छोडेर पश्चिमा संस्कृतितर्फ ढल्कँदै गइरहेका छन् । हामी नेपाली नयाँ वर्ष मनाउन हिच्किचाउँछौं तर अंग्रेजी नयाँ वर्ष दिल खोलेर मनाउँछौँ । अंग्रेजी नयाँ वर्षलाई नेपालीपनका साथ कसरी मनाउन सकिन्छ भनेर नै हामीले जनवरी एकलाई नेपाली टोपी दिवसको रूपमा मनाउन सुरु गरेका हौं । सरकारले पनि त अंग्रेजी नयाँ वर्षदेखि नै नेपाल भ्रमण वर्ष मनाउन थालेको छ । हामी पनि त त्यही अभियानमा छौं ।
प्रश्न ४
तपाईंहरूले नेपाली टोपी दिवस मनाउन थाले पनि सरकारले त यसलाई अझै मान्यता दिएको छैन नि, कसरी यो राष्ट्रिय दिवस भयो त ?
हाम्रो अभियान सरकारलाई दबाब दिएर जसरी पनि राष्ट्रिय पोशाक चाहियो भन्नु नै हो । यसका लागि दिवस मनाउनै पर्छ भन्ने छैन तर हरेक दिन हरेक खालका दिवस हुन्छ भने राष्ट्रिय महत्वको टोपी दिवस किन नहुने ? यसलाई सरकारले मान्यता दिनैपर्छ भन्ने हाम्रो मान्यता हो । यो हुन्छ पनि ।
प्रश्न ५
टोपीमात्र राष्ट्रिय पोशाक हो त ? अरू पोशाकहरू पनि चाहिन्छ नि, होइन र ?
तपाईंले भन्नुभएको कुरा सत्य हो । हाम्रो माग सबैलाई मान्य हुने राष्ट्रिय पोशाक चाहिन्छ भन्नु नै हो । त्यो सम्भव छैन भने शिरमा लगाउने टोपीलाई मात्र भए पनि राष्ट्रिय पहिचान घोषणा गरियोस् भन्ने हाम्रो माग हो । एउटा देश चिनाउने राष्ट्रिय पोशाक खोइ हाम्रो ? विश्वमा सबैका आआफ्नै मौलिक पहिचानयुक्त पोशाक छन् तर नेपालीको पहिचान कहाँ छ ? सरकारलाई हाम्रो प्रश्न यही हो र हामी हाम्रो गुमेको पहिचान ससम्मान फिर्ता चाहन्छौँ ।































प्रतिक्रिया