पोखरा : चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) मा लगातार चौंथो जित निकालेको छ । विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको हाे ।
चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।
विराटनगरका लागि युवा ब्याट्सम्यान लोकेश बमले ३६ बलमा ६२ रन जोडेपनि अन्य खेलाडीको साथ नपाउँदा विराटनगरले हार टार्न सकेनन् । विराटनगरकाे सुरुवाट राम्राे हुन सकेन । दोस्रो ओभरको पहिलो बलमै सन्नी पटेलले ओपनर मोहम्मद जैद आलमलाई १ रनमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको पहिलो बलमा करण केसीले अर्का ओपनर सुनिल धमलालाई विकेटकीपर अनिल कुमार शाहबाट ५ रनमा क्याच आउट गराए । छैटौं ओभरको अन्तिम बलमा भुवन कार्कीले कप्तान प्रदीप ऐरीलाई ९ रनमा बोल्ड आउट गरे । भुवन कार्कीले नै राजु रिजाललाई १ रनमा एलबी डब्लू आउट गरे ।
आठौं ओभरको चौथो बलमा भुवनले पाकिस्तानी युवा ब्याट्सम्यान नोमन खानलाई १८ रनमा एलबी डब्लू आउट गरेपछि विराटनगर संकटमा परेको थियो । नवौं ओभरको दोस्रो बलमा पुनित मेहरासँग रनमा तालमेल गर्न नसक्दा राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगेपछि विराटनगर ३७–६ को कमजोर अवस्थामा पुगेको थियो । सातौ विकेटका लागि युवा ब्याट्सम्यान लोकेश बम र पुनित मेहराले ७७ रनको साझेदारी गर्दै जितको संभावना कायमै राखेका थिए ।
१८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफाले पुनितलाई २४ रनमा बोल्ड आउट गरेपनि जित कठिन बनेको थियो । रोहन मुस्तफाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सन्नी पटेलको नाममा १ विकेट रह्यो ।
त्यसअघि पोखरा रंशालामा टस हारेर ब्याटिङ थालेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।
स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चिए । पुनित मेहराले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए ।
चितवनले अन्तिम खेल मंगलबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।































प्रतिक्रिया