नयाँ दिल्ली ।
विवादित नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
देशको दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन गर्न नपाउने गरी राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर सरकारले प्रतिबन्ध लगाएको छ। राजधानी दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा मोबाइल टेलिफोन सेवा र इन्टरनेटसमेत अवरुद्ध गरिएको छ।
योसँगै विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा एकैवर्ष भित्र इन्टरनेट सेवा बन्द गरिएको यो ९५ औं पटक भएको बताइएको छ। भारत सरकारले केही असहजता आउने बित्तिकै इन्टरनेट सेवा प्रदायकलाई व्यवस्था कायम गर्नका लागि भन्दै इन्टरनेट सेवा बन्द गर्न निर्देशन दिने गरेको छ।
भारतका तीन छिमेकी देशबाट आएका गैरमुसलमान आप्रवासीलाई नागरिकता उपलब्ध गराउने भन्ने नयाँ कानुनविरुद्ध भारतभर प्रदर्शन भइरहेको हो। नयाँ कानुनमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको कारण प्रदर्शन भइरहेको छ भने केही भागका प्रदर्शन हिंसात्मकसमेत भएका छन्।
प्रदर्शनका कारण दिल्ली मेट्रो रेलसेवाका कतिपय स्टेसन बन्द गरिएका छन्। दिल्ली मेट्रोका अनुसार सुरक्षाका कारण बाराखम्बा, वसन्त विहार, मन्डी हाउस, केन्द्रीय सचिवालय, पटेल चौक, उद्योग भवन, आइटिओ, प्रगति मैदान, खान मार्केट बन्द गरिएका छन्।
बिबिसी































प्रतिक्रिया