डोल्पा ।
हिमाली जिल्ला डोल्पामा चार दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै ४ दिनदेखि टेलिफोन सेवाविहीन भएको हो ।
सदरमुकाम दुनै, जुफाल, खदाङ लगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ । “मङ्गलबार दिउँसोबाट मोबाइल टावर गएको हो, अझै आएको छैन, दुर्गमलाई सुगमसँग जोड्न टेलिफोन सेवा नै नभएपछि नागरिकहरु समस्यामा परेका छन्”, त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले भने ।
मङ्गलबारदेखि डोल्पामा ल्याण्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, एडिएसएल इन्टरनेट सेवालगायत कुनै पनि सञ्चार सेवा छैन । अवरुद्ध टावर सञ्चालन गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिए ।
जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । तीन दिनदेखि कुनै पनि सञ्चार सुविधा नभएपछि डोल्पाली नागरिकको दैनिकी कष्टकर बनेको छ । दुर्गममा लामो समयसम्म टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको सिरहा जिल्लाबाट डोल्पा अध्यापन गर्न आएका शिक्षक रामनाथ यादवले बताए ।
सुविधाका नाममा रहेको मोबाइल सेवासमेत ठप्प भएपछि घरमा रहेका आफन्तहरुसँग समेत कुरा गर्न समस्या भएको उनको भनाइ छ । मोबाइल सेवासँगै इन्टरनेट सुविधासमेत बन्द भएपछि विभिन्न स्थानीय तह र सदरमुकाम दुनैस्थित सरकारी तथा गैरसरकारी कार्यलयको काम काजसमेत ठप्प भएको छ ।
डोल्पामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई–तीन पटकसम्म मोबाइल सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई डोल्पालीले आग्रह गरेका छन् ।































प्रतिक्रिया