नयाँ दिल्ली ।
भारत सरकारले नागरिकता संशोधन सम्बन्धी नयाँ कानून (सिएए) ल्याएपछि देशभरको सडकमा प्रदर्शन र धरपकड सुरु भएको छ । राजधानी दिल्ली, उत्तर प्रदेश तथा कर्नाटकका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले निशेधाज्ञा (चारजना भन्दा बढी भेला हुन नपाउने व्यवस्था) लगाएको छ।
कर्फ्यू र निषेधाज्ञा गरेपनि दिल्लीमा ठूलो संख्यामा प्रदर्शन भइरहेको छ। प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादवसहितलाई पक्राउ गरेको छ। उत्तर प्रदेशमा धारा १४४ लगाइएको छ।
यस्तै कोलकात्ता, बैंगलुरु, आहमावाद लगायत क्षेत्रमा प्रदर्शन भएपछि दिल्लीको २० मेट्रो स्टेशन बन्द गरिएको छ। ठाउँ ठाउँमा प्रदर्शनकारीले बस र मोटर साइकल जलाएका छन् भने प्रहरीले लाठी चार्जका साथै पक्राउ गरेको छ।
दिल्लीका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । यस्तै टेलिफोन सेवामा पनि अवरोध आएको छ। एयरटेलले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको बताएको छ । बैंग्लोरमा सिएएको विरोधमा प्रदर्शनमा उत्रिएका वरिष्ठ इतिहासकार रामचन्द्र गुहासहितलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बर सम्मका लागि निषेधाज्ञा लागू भएको छ । तर पनि वामपन्थी दलहरुले प्रदर्शन गरिरहेका छन् । हैदराबाद, चेन्नई र चंडीगढमा पनि प्रदर्शन भइरहेका छन् । सिएएको विरोधमा वामपन्थी पार्टीसँगै मुस्लिम संगठनहरुले बिहीबार भारत बन्द आह्वान गरेका छन् ।
गएको हप्ता कानूनी रुप पाएको नागरिकता संशोधन सम्बन्धी नयाँ कानून अनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइने छ । तर यसमा मुस्लिमहरुलाई भने समेटिएको छैन । कानूनी रुपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ ।
एजेन्सी































प्रतिक्रिया