काठमाडौं
अमेरिकी संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ) ले राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा मतदान गरेको छ। शक्तिको दुरुपयोग गरेको तथा संसदको कार्यसम्पादनमा अवरोध गरेको भन्दै महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि औपचारिक रुपमा महाअभियोग लागेको हो।
नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका हुन्। महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।
तर, अहिले नै राष्ट्रपति ट्रम्पले राजीनामा दिनै छैनन् । किनकी उनी माथि लागेको यो महाअभियोगको प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ। माथिल्लो सदनमा भने रिपब्लिकन पार्टीको बहुमत अर्थात ट्रम्पकै पक्षमा छ। सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा गरेकी छिन् ।

तीन सांसदले यसमा मतदान गरेनन् भने डेमोक्र्याटिक नेतृ तथा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने होडमा रहेकी तुलसी गाबरले पक्ष वा विपक्षमा मतदान गरिनन् । दुई डेमोक्र्याट र सम्पूर्ण रिपब्लिकनले विपक्षमा मतदान गरे। पक्षमा मतदान गर्नेमा २२९ डेमोक्र्याट र एक स्वतन्त्र सांसद हुन् ।
तल्लो सदनका विभिन्न संसदीय समितिमा रहेका सदस्यहरुले पालैपालो महाअभियोग प्रस्तावका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । डेमोक्र्याटिक सांसदहरुले महाभियोग प्रस्ताव अत्यावश्यक र संवैधानिक व्यवस्थाका लागि अति आवश्यक रहेको बताए ।
तर रिपब्लिकन पार्टीका सांसदहरुले राजनीतिक उद्देश्यले महाअभियोग प्रस्ताव ल्याइएको र राष्ट्रपति ट्रम्पमाथिका अभियोगमा स्पष्ट प्रमाण नरहेको आरोप लगाएका छन्। डेमोक्र्याट सांसदहरुले कानून या संविधान भन्दा माथि कोही पनि नरहने तर राष्ट्रपति ट्रम्पले कानून र संवैधानिक व्यवस्थाको धज्जी उडाएको बताएका छन् ।
संसदमा महाअभियोग प्रस्तावमाथि छलफल सुरु हुनु पूर्व रिपब्लिकनले महाअभियोग प्रस्ताव रोक्नका लागि ल्याएको प्रस्ताव अस्वीकृत भएको थियो । डेमोक्र्याटको बहुमत रहेको सदनले ट्रम्पमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेसँगै ट्रम्प अमेरिकाको इतिहासमा औपचारिक रुपमा महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति भएका छन् । अमेरिकाको इतिहासमा यो चौथो महाअभियोग प्रक्रिया हो।
सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ।
राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि छ। राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेका थिए । युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप ट्रम्पमाथि छ ।

यता, जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार हुन् । यसका साथै महाअभियोग लागेपछि राष्ट्रपति ट्रम्पले मिचिकन सिटीमा आफ्ना समर्थकहरुमाझ सम्बोधन गरिहरेका छन्। उनले उक्त सम्बोधनमा सदनकी सभामुख न्यान्सी पेलोसीमाथि तनानाम गाली रहेका छन् भने अब अमेरिकामा चीनको साम्यवाद आउन सक्ने चेतावनी दिएका छन्। उनी मिचिकन र्यालीमा समेत सहभागी भएका छन्।





























प्रतिक्रिया