नयाँ दिल्ली ।
भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन् । भारतमा पछिल्ला केही दिन यता नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।
ती प्रदर्शनहरु चर्किँदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा उनले सो आग्रह गरेका हुन् । मङ्गलबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र शान्त रहन आग्रह गरेका थिए ।
उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसीमको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकता सम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको बताए । उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरे ।
संशोधनपछि आएको नागरिकता सम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्य लगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शनहरु भएका छन् ।
दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ । राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मङ्गलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए ।
रासस/एएफपी































प्रतिक्रिया