भक्तपूर ।
नेपाली काँग्रेसका नेता एवं दोस्रो संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनुभएका ढुङ्गेलको गत आइतबार मष्तिस्काघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन कक्षमा उपचारकै क्रममा ६० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
वि.सं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित ढुङ्गेलको हिजो नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको स्थानीयवासी रामहरि थापाले जानकारी दिए ।
आर्यघाटमा स्व ढुङ्गेलको पार्थिव शरीरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनले ढुङ्गेलको निधनले नेपाली काँग्रेसले निष्ठावान् र होनाहार नेता गुमाएको भन्दै दुःख व्यक्त गरे । आर्यघाटमा काँग्रेसका नेताहरु शेखर कोइराला, बालकृष्ण खाँड, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, ३ नं प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायत काँग्रेस जिल्ला समितिका पदाधिकारी लगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
ढुङ्गेलको पार्थिव शरीरलाई गौशालादेखि शवयात्रा गरी आर्यघाट पु¥याएर श्रघाञ्जलि अर्पण गरी दाहसंस्कार गरिएको स्व ढुङ्गेलका भाइ विश्व ढुङ्गेलले जानकारी दिए । ढुङ्गेललाई जेठा पुत्र सविनले दागबत्ती दिएका थिए।
ढुङ्गेल विसं २०४० देखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका गाविस अध्यक्षसमेत निर्वाचित भएका थिए । उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानसभा सदस्य, नेपाली कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति रामेश्वरप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले स्वर्गीय ढुङ्गेलले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय भूमिकाको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
सभापति देउवाले उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति पनि समवेदना प्रकट गरेका छन् । ढुङ्गेलको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्व ढुङ्गेल संविधानसभा सदस्य निर्वाचन २०७० मा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ बाट विजयी भएका थिए ।































प्रतिक्रिया