बारा ।
वार्षिक ७० लाख पर्यटक ओहोरदोहोर गर्ने गरिएकोे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र भार व्यवस्थापनमा कठिनाइ उत्पन्न भएकाले बाराको निजगढमा निर्माणका लागि प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सरोकारवालाले माग गरेका छन् ।
उहाँहरुले उक्त विमानस्थल सम्पन्न हुनसके विश्वका विभिन्न मुलुकबाट आउने पर्यटक वृद्धि हुनुका साथै देशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो । द्रुतमार्ग, विमानस्थल निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले आइतबारआयोजना गरेको पत्रकार सम्मेलनमा उहाँहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि देशको आर्थिक गतिविधि तीव्र हुने भएकाले कुनै पनि निहुँ निकाली निर्माण कार्य ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
दुईदशक अघि नै बारामा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरी सरकारले अध्ययन थालेको बताउँदै पहिल्यै बन्नुपर्ने विमानस्थल दशकौँ बितिसक्दा पनि बन्न नसकेको उहाँहरुको भनाइ थियो । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले त्रिभुवन विमानस्थलपछि निजगढ विमानस्थल अन्तर्राष्ट्रियरुपमा सम्पर्क बढाउन दोस्रो भरपर्दो विमानस्थल हुने उल्लेख गर्दै त्यसका लागि दुई हजार हेक्टर बन क्षेत्रका रुख कटान गरिनुपर्ने आवश्यकता रहेको तथा जङ्गल क्षेत्रको दक्षिणपट्टीको ५५ किलोमिटर क्षेत्रमा तारबार बाँधिएको बताउनुभयो ।
उहाँले उक्त विमानस्थल निर्माणका लागि विवाद खडा गर्नु आवश्यक नभएको प्रष्ट पार्दै सरकारले पनि विमानस्थल निर्माण गर्ने कार्य अघि बढाउने तथा लगानीकर्ताको खोजी कार्य शुरु भएको बताउनुभयो । नेपाल सरकारका पूर्वसचिव एवं पूर्वाधारविद् वीरेन्द्रबहादुर देउजाले १८ वर्ष अघि नै उक्त विमानस्थलका लागि सर्भे गरिएको जानकारी दिँदै नेपालको आर्थिक उन्नति तथा दीर्घकालीन हितसँग जोडिएकाले सो विमानस्थल निर्माणका लागि सबै सरोकारवाला पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
इञ्जिनीयर ओम शर्माले तयार पारेको अवधारणापत्रमा उक्त विमानस्थल निर्माण गर्दा पनि ७० प्रतिशत रुख सुरक्षित हुने तथा १० हजार रुख काट्नुपर्ने अवस्थामा रहेका उल्लेख भएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।































प्रतिक्रिया