काठमाडौं,
काठमाडौं महानगरपालिकाले स्थापनाको २५ औं वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी गरेको छ । महानगरले मंसिर २८ र २९ मा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेको जनाएको हो । २९ मंसिर २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएसँगै यो दिवस मनाउन थालिएको हो ।
महानगरवासीलाई अनुभूत हुनेगरी दिवस मनाउने तयारी भएको महानगरपालिकाले बिहीबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । भव्यताका साथ दिवस मनाउन महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ भने विभिन्न उपसमिति पनि गठन गरिएको छ ।
दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा गरिनेछ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा महानगरपालिकाले सञ्चालन गर्न लागेको हो । त्यस्तै, दिवसको उपलक्ष्यमा महानगरले बाजा मूर्त अमूर्त संस्कृतिको संरक्षण र प्रवद्र्धनको योजना अनुसार विभिन्न नाच र बाजासँग सम्बन्धितलाई सम्मान गरिनेछ । त्यस्तै माइतीघर तीनकुनेसम्म साढे २ किलोमिटर साइकल लेनको गुरुयोजनाको पनि सुरुवात गरिनेछ भने बौद्ध रामहिटीमा निर्मित दमकल भवन तथा तालिम केन्द्रको उद्घाटन गरिने कार्यक्रम तय गरिएको जनाएको छ ।
मखन र किलागल कुमारीलाई मासिक १५ हजार भत्ता उपलब्ध गराइने, उत्कृष्ट कर्मचारी र करदातालाई सम्मान गरिने लगायतको कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।
समितिका अध्यक्ष तथा महानगर प्रमुख शाक्यले महानगरका अतिरिक्त वडा स्तरमा आयोजना हुने कार्यक्रमलाई समेत सहयोग गरिने बताए । ‘महानगरले जनतादेखि जनप्रतिनिधिसम्मको सहभागितामा वसन्तपुरमा विभिन्न कार्यक्रमको आयोजना गरी महानगर दिवसलाई भव्यताका साथ मनाउने तयारी गरेको छ’, मेयर शाक्यले भने ।
दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं सुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
राजधानीबाट





























प्रतिक्रिया