हिमाली भेगमा हिमपात : देशभरि चिसो बढ्यो

हिमाली भेगमा हिमपात : देशभरि चिसो बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भूमध्य सागरको वायुको प्रभावले देशभरि नै चिसो बढेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको हो । भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिने गर्छ।

यसबाट बिहीबार मुलुकभरिको अधिकतम तापक्रम घट्नुको साथै र केही भूभागमा घाम नलागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार विकसित हुन थालेको उक्त मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाकी मौसमविद् विभूती पोखरेलले जानकारी दिइन्। ‘पहाडी भेगमा बदली भइ हल्का वर्षा हुनेछ। हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपातको सम्भावना छ’, उनले भनिन्, ‘तराई भेगमा समेत चिसो बढ्ने तर शीतलहरको सम्भावना भने छैन।’

हिमपात हुने भेगमा बसोबास गर्ने स्थानीय तथा पर्यटकलाई शनिबारसम्म सचेत रहन पनि मौसमविद् पोखरेल अनुरोध गरिन्। महाशाखाका अनुसार पूर्वी तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। बिहान हवाई सेवासमेत अवरुद्ध हुने जनाएको छ। बिहीबार विराटनगरको भिजिबिलिटी ६ सय, जनकपुर १५ सय, भैरहवा १२ सय मिटर थियो। काठमाडौंमा ५ हजार मिटर थियो।

काठमाडौं उपत्यकामा बिहीबार न्यूनतम तापक्रम ७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ। मंसिर २२ मा न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियसमा झरेको थियो। यो वर्षकै सबैभन्दा बढी चिसो मंसिर १४ गते भएको थियो। उक्त दिन तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो। पश्चिमी वायुको प्रभावले तापक्रम घटने क्रम जारी रहने महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo