सदरमुकाम मै बेचिन्छन् बिना इजाजत पशुपक्षीका औषधि

सदरमुकाम मै बेचिन्छन् बिना इजाजत पशुपक्षीका औषधि

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

दमौलीमा दाना तथा कुखुराका चल्ला सप्लायर्सहरुले बिनालाइसेन्स  पशुपक्षीका औषधि बिक्री गर्दै आएका छन् । औषधि बिक्री वितरण गर्नका लागि औषधि व्यवस्था विभागबाट मान्यता प्रमाणपत्र लिनुपर्ने प्रावधान रहे पनि यहाँका अधिकांश दाना तथा चल्ला सप्लायर्सहरु बिनालाइसेन्स पशुजन्य औषधि बिक्री गर्दै आएका हुन् ।

व्यवसायीले हचुवाको भरमा औषधि बिक्री वितरण गर्दा रोग निराकरण हुन नसक्दा त्यसको मारमा स्वयम् कृषक पर्ने गरेका छन् । सम्बन्धित निकायहरुले यस्ता पसलहरुको अनुगमन कार्य नहुँदा एकाधिकार ढङ्गबाट औषधि बिक्री हुने गरेको एक कृषकले जानकारी दिनुभयो । अनुगमन र कारवाही गर्ने अधिकार आफूहरुलाई नभएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो ।

“यसका लागि औषधि व्यवस्था विभागले नै कडाइका साथ अनुगमन कार्य थाल्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो । चाडपर्वको समयमा जिल्ला प्रशासन कार्यालयद्वारा गरिने किराना, तरकारी, मासु लगायतका पसलहरुको अनुगमन गर्दा पशु विज्ञ केन्द्रका प्रतिनिधिलाई सहभागी गराउने गरिए पनि त्यसपछि कुनै समयमा सहभागी नगराइएको उहाँले जानकारी दिनुभयो ।

दमौली बजार क्षेत्रमा मात्रै करिब एक दर्जनका हाराहारीमा दाना तथा कुखुराको चल्ला सप्लायर्स गर्ने पसलहरु रहेका छन् भने दुई÷तीनजना व्यवसायीले मात्रै औषधि व्यवस्था विभागबाट मान्यता प्रमाणपत्र लिएर दाना÷चल्लाको साथमा औषधिसमेत बिक्री वितरण गर्दै आएका छन् ।

अवैधानिक तरिकाले औषधि बिक्री वितरण गरेको भन्ने जनगुनासाहरु आएसँगै यस्ता पसलहरुको व्यासनगरपालिकाको अनुगमन समितिले छिट्टै अनुगमन गरी कानूनी दायरामा ल्याइने व्यास नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले बताउनुभयो ।

आधिकारिक बिक्रेता बिना कसैले आफूखुशी औषधि बिक्री वितरण गर्न नपाइने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताउनुभयो । यसरी अवैधानिक तरिकाले औषधि बिक्री गर्ने व्यवसायीको तत्कालै अनुगमन तथा नियमन गरिने उहाँले आश्वासन दिनुभयो ।

Skip This
Skip This
Logo