काठमाडौ, मंसिर २४ । केन्द्रविन्दु संवाददाता । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको विधान संशोधनलाई जडसूत्रवादमा फर्किएको टिप्पणी गरेको छ ।
केन्द्रविन्दु अनलाइनसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले संविधान निर्माण र निर्वाचनका बेला जनतासमक्ष लिएको सपथलाई लत्याएको टिप्पणी गरे । “हुन त कम्युनिष्ट पार्टीको सनातन विश्वास नै साम्यवाद हो, तर मदन भण्डारीले त्यसलाई तोड्ने क्रममा जनताको बहुदलीय जनवाद भन्ने प्रस्ताव गर्नुभयो, र यस्तो खाले चिन्तन राख्नेहरूलाई जडसूत्रवादी भन्ने संज्ञा दिनुभयो,” प्रवक्ता विश्वप्रकाश शर्माले भने, “हिजो मदन भण्डारीले जडसूत्रवादी भनेर दिएको संज्ञाकै बाटोमा उहाँहरू अहिले आउनुभयो ।”
नेकपाको सोमबार बसेको सचिवालय बैठकले पार्टीको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद, तात्कालिक कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद र दीर्घकालिन कार्यक्रम साम्यवाद राख्दै पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको थियो । सचिवालयले उक्त विधान संशोधनको प्रस्ताव आगामी मंसिर २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकमा लैजाने निर्णय भएको थियो ।
नेकपाको प्रस्तावित सैद्धान्तिक बाटो कम्युनिष्ट सत्ताको परिकल्पनाको मनोविज्ञान भएको भन्दै शर्माले त्यसलाई अधिनायकवादी आकांक्षाको प्रतिविम्ब भएको उल्लेख गरे । “निर्वाचनमा जाँदै गर्दा उहाँहरूले खाएको सपथ साम्यवादको बाटो थिएन, बहुदलीय जनवादको बाटोबाट मुलुकको समुन्नतिको खोजी थियो”, उनले भने, “आज उहाँहरूले साम्यवादतर्फ पुग्ने बाटो लिनु भनेको निर्वाचनका बेला जनतालाई दिएको वचनभन्दा विपरीत हो र नेपालको भूराजनीतिक यथार्थमा विल्कुलै असम्भव कुरा हो ।” शर्माले नेकपाको नयाँ सैद्धान्तिक प्रस्तावलाई एकाएक आएको भन्दै केही दिनको रंगरमाइलोको संज्ञा दिए ।
वैज्ञानिक समाजवाद भनेको शब्दको आवरण मात्र भएको भन्दै शर्माले थपे, “उहाँहरूले भन्नुभएको वैज्ञानिक समाजवाद ‘के’लाई जामा लगाउन खोज्नुभएको हो भने उत्तर कोरिया, क्यूवामा जुन खालको राजनीतिक अभ्यास भयो त्यसलाई भन्नुभएको होला । तर ज्ञानको दायरा कहाँ पुगिसक्यो भन्ने कुरालाई बिर्सेर विज्ञानको आविष्कार हुँदैन । विज्ञान भनेकै ज्ञानको नयाँ सिर्जना गर्ने सन्दर्भमा गरिने कुरा हो । उहाँहरू जडतर्फ फर्कन खोजेर नामचाहिँ वैज्ञानिक भन्नुभएको छ । यो आकर्षक नाराभित्रको पुरानो कर्म हो, उहाँहरूले ल्याएको नयाँ सैद्धान्तिक प्रस्ताव आफैंमा विवादास्पद छ ।”
कम्युनिष्ट पार्टीले साम्यवादसम्म पुग्ने गन्तव्य राखेर आफ्नो विधान संशोधन गर्ने कुरा गर्दा त्यसलाई एकाएक आएको हो भन्न मिल्छ र ? भन्ने जिज्ञासामा प्रवक्ता शर्माले भने, “उहाँहरू पछिल्लो समय त्यो दर्शनलाई खोपाको भीमसेन बनाएर संसदीय परिपाटी, संघीयता, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको बाटोमा हुनुहुन्थ्यो, तर उहाँहरूले भन्दै गरेको साम्यवादको परिकल्पनाले त ती कुनै पनि कुरा स्वीकार गर्दैन ।”































प्रतिक्रिया