काठमाडौं, २०७६ मंसिर २४ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्नुभएको छ ।
इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग गर्नुभएको भेटमा उहाँले प्रशारण लाइन विस्तार, जलविद्युत र सौर्य ऊर्जाको विकासमा सहकार्य गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतका लागि आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी गराउनुभएको थियो । भेटमा प्रमुख हसकेलले स्मार्ट ग्रीड, पावर स्टेशन र स्मार्ट सोलुशनका क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताउनुभएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
सुनकोशी–मरिन डाइभर्सन स् स्रोत सुनिश्चित गरिदिन आग्रह
चालु आर्थिक वर्षको बजेटमार्फत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि स्रोत सुनिश्चित गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थमन्त्रालयसँग आग्रह गरेको छ ।
हिमाल, पहाड र तराईलाई समेत जोड्ने भएकाले राष्ट्रिय एकताको आयोजनाका रुपमा समेत सुनकोशी मरिन डाइभर्सन आयोजनालाई लिइएको छ । आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसकारण पनि सो आयोजना रणनीतिक महत्वको रहेको छ ।
ऊर्जामन्त्री वर्षमान पुन र अर्थमन्त्री डा युवराज खतिवडाबीच विभिन्न आयोजनाका प्रगतिका बारेमा आइतबार छलफल समेत भएको थियो । सोही छलफलका आधारमा सोमबार ऊर्जाले सुनकोशी–मरिन आयोजनाका लागि स्रोत सुनिश्चितता गरिदिन अर्थ मन्त्रालयसँग आग्रह गरेको हो ।
आयोजना बहुउद्देश्यीय प्रकृतिको हो । भेरी बबई डाइभर्सन आयोजनामा जस्तै सुनकोशीको पानी मरिनमा खसाल्दा सिँचाइ सुविधाका अलावा विद्युत् समेत उत्पादन गरिनेछ । प्राविधिक अध्ययन अनुसार आयोजनाबाट कूल ४२.५ मेगावाट विद्युत् समेत उत्पादन हुनेछ ।
मन्त्री पुनको सचिवालयले आयोजनाको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिएको छ । आयोजनाको हाल डिजाइनको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी मरिन डाइभर्सन आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार स्रोत सुनिश्चित भए आगामी केही महिनाभित्रै निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापी बोलपत्रमा जान सकिने अवस्था रहेको छ ।
आयोजनाको विद्युत् गृह रहने स्थानको जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ । आयोजना प्रभावितलाई मुआब्जा वितरण गर्ने अन्तिम तयारीमा रहेको छ । चिनियाँ आयात निर्यात बैंकले उपलब्ध गराउने बजेटमा केही प्राविधिक काम बाँकी छ । चालु आवको बजेटमा दुई अर्बको स्रोत सुनिश्चित छ । ऊर्जाले अर्थ मन्त्रालयसँग ४६ अर्ब ७२ करोड बराबरको स्रोत सुनिश्चितताका लागि आग्रह गरेको छ ।
बहुवर्षीय ठेक्का प्रक्रियामा आयोजना अगाडि बढाइने भएकाले सोही अनुसार स्रोतको सुनिश्चितता भए आयोजनालाई निर्माणमा लैजान सकिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ । भेरी बबई डाइभर्सन आयोजनामा प्राप्त भएको सफलताले पनि मन्त्रालयलाई नयाँ आयोजना शुरु गरिहाल्ने हुटहुटीले काम गरेको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भई हाल विद्युत् गृह तथा बाँधस्थल निर्माणको काम शुरु भइसकेको छ । आयोजनाको भौतिक तथा वित्तीय प्रगति समेत असाध्यै सकारात्मक रहेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत अन्तिम तयारीको चरणमा रहेको आयोजना प्रमुख आचार्यले जानकारी दिनुभयो । निर्माण प्रक्रिया सुरु गर्ने चरणमा रहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनामा भेरी बबई आयोजनाको शैलीमा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने तयारी गरिएको छ । आयोजनामा टिबिएम प्रयोग गरेर १३.१ किलोमिटर सुरुङ निर्माण गर्ने मन्त्रालयको तयारी छ ।
रासस































प्रतिक्रिया