२० मङ्सिर । भारतको उत्तर प्रदेशमा आफूमाथि भएको बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई पीडकहरूले समातेर जलाएका छन्।
उत्तर प्रदेशको उन्नाव जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षीय ती महिला बिहीबार अदालतमा बयान दिन जाँदै थिइन् । रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर उनलाई कब्जामा लिए । त्यसपछि उनलाई गाउँबाहिर खेतमा लगी पेट्रोल छर्केर जलाइएको इण्डिया टुडेले जनाएको छ।
शरीरमा आगो लागेकी ती महिला हारगुहार गर्दै नजिकैको गाउँ पुगेकी थिइन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको सञ्चार माध्यमले जनाएका छन्। स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई लखनउ लगिएकोमा त्यहाँबाट दिल्ली लगिएको छ। चिकित्सकहरूले उनी बाँच्ने सम्भावना क्षीण रहेको बताएका छन् ।

गत वर्ष डिसेम्बरमा बलात्कारको घटना भएको र त्यसको तीन महिनापछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन्। उनीमाथि पाँच व्यक्तिले बलात्कार गरेका थिए। बलात्कारी पाँच जनामध्ये तीन जनालाई पक्रिएर प्रहरीले हिरासतमा राखेको छ। दुई जना भने फरार छन्।
ती महिलामाथि बलात्कार गर्नेहरूले नै अहिले हमला र आगो लगाएको आशंका गरिएको छ। यो घटनाले भारतभर आक्रोश फैलिएको छ।
केही दिनअघि मात्र भारतको हैदरावाद सहरमा स्कुटर बिग्रेर सडकमा उभिइरहेकी भेटेरेनरी डाक्टरको बलत्कारपछि हत्या भएको थियो। आजै मात्र प्रहरीले उक्त घटनाका आरोपी ४ जनालाई सोही ठाउँमा भएको एन्काउनटरमा मारेको छ । एजेन्सी





























प्रतिक्रिया