भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस् : मन्त्री भट्टराई

भ्रमण वर्ष सफल पार्न सहयोग गर्नुस् : मन्त्री भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गर्नुभएको छ ।

मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर छलफल गरी सो आग्रह गर्नुभएको हो । उहाँले भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका भएको र भ्रमण वर्षका बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गर्नुभयो ।

“नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु”, मन्त्री भट्टराईले भन्नुभयो, “मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस्, यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”

सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटनमन्त्रीलाई उपस्थित गराइदिन पहलकदमीका लागि अनुरोधसमेत गर्नुभयो । उहाँले नेपालमा २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको स्मरण गर्दै भन्नुभयो, “महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।”

मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिनुभयो । उहाँले दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको हुँदा सबैसँग सहयोगका लागि आह्वान गर्नुभयो ।

पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा तीन प्रतिशत योगदान रहेको जानकारी दिँदै उहाँले १५ औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताउनुभयो । मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको र अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले आगामी सन् २०२० मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै उहाँले लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताउनुभयो । मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिनुभयो ।

नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताउनुभयो । उहाँले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीले चाँडै विश्वभरिका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगामी १० वर्षभित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताउनुभयो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दैै विश्वभरि भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि अनुरोध गर्नुभयो । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यकीयस्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीका बारेमा जानकारी गराउनुभयो ।

सहयोगका लागि तयार छौँ : राजदूतहरु

छलफलमा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरुमा चीन दोस्रो स्थानमा र नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाउँदै भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनका लागि प्रवद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।” उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनीले निर्माण गरिरहेको र चिनियाँ कम्पनीले गुणस्तरीय कामसहित समयमै निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध भएमा उक्त सामग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले नेपाल भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

Skip This
Skip This
Logo