वीरगंज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहले वीरगन्जमा बुधबार पहिलो प्रदेश भेला गरेर शक्ति प्रदर्शन गरेको छ। नेकपा पार्टी विभाजनको सन्देश र कार्यकर्तालाई निर्वाचनको तयारी जुटन निर्देशन दिन ओली समूहले बुधबार वीरगन्जमा प्रदेश भेला गरेको हो।
नेकपाको प्रदेश २ का इन्चार्ज एंव स्थायी समिती सदस्य सत्यनारायण मण्डलको अध्यक्षतामा आयोजित प्रदेश भेलामा प्रदेश २ का पर्सादेखि सप्तरीसम्मका आठ जिल्लाका नेकपाका अगुवा नेता कार्यकर्ता सहभागी भए।
भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ , महिला बालबालिका तथा समाज कल्याणमन्त्री जुली कुमारी महत्तोले सम्बोधन गरे।
प्रदेश भेलालाई सम्बोधन गर्दै नेकपाका महासचिव पौडेलले ताजा जनादेशका लागि मुलुक चुनावमा गइरहेकाले चुनावको तयारीमा जुट्न अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए।
वैशाख १७ र २७ मा संसदको निर्वाचन हुने निश्चित भएकाले यसमा शंका उपशंका नगरी निर्वाचननको तयारीमा अहिलेदेखि नै लागि हाल्न कार्यकर्तालाई महासचिव पौडेलले निर्देशन दिए।
‘सरकारले तोकेकै मितिमा निर्वाचन हुन्छ’, पौडेलले भने, ‘किनकी संसद विघटन र चुनावको मिति घोषणा गर्ने सरकारको निर्णय संविधानसंवत र लोकतान्त्रिक छ।’
संसदका बहुमत सदस्यको साथ लिएर प्रधानमन्त्री ओलीले गरेको निर्णयलाई न्यायलयले पनि सदर नै गर्ने भएकाले तोकिएको मितिमै निर्वाचन हुने ठोेकुवा उनले गरे।
सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगले पनि वैशाख १७ र २७ मा निर्वाचन गर्न कुनै बाधा र अवरोध नभएको बताएको उनले सुनाए।
‘प्रचण्डकै कारण नेपालबाट माओवादीको नाम निशान हरायो’
भेलालाई सम्बोधन गर्दै सहरी विकासमन्त्री प्रभु साहले प्रचण्डको निजी स्वार्थका कारण नेपालबाट माओवादी पार्टीको नाम निशान हराएको आरोप लगाए। प्रचण्डको पारिवारिक र सत्ता मोहका कारण नै नेपालको राजनीतिमा माओवादीको नाम निशान नरहेको उनको भनाइ छ।
‘प्रचण्ड माओवादीको मुभमेन्टको व्यापार गर्ने नेता हुन्, व्यापारी हुन्, अहिले फेरि उनले माओवादीको नाममा व्यापार गर्न खोजी रहेका छन्’, उनले भने। जनमुक्ती सेनाको नाममा आएको रकम लुटेर खाने प्रचण्ड भन्दा ठूलो भ्रष्टाचारी नेता नेपालमै नभएको पनि आरोप उनले लगाए।
प्रधानमन्त्रीको कुर्सीका लागि राजाको गोडामा भेटी चढाएर लम्पसार परेका माधवकुमार नेपालले अहिले प्रतिगमनको कुरा गर्न थालेको भन्दै साहले व्यङ्ग्य गरे । नारायणकाजी श्रेष्ठलाई कहिल्यै चुनाव नजित्ने नेता , मातृका यादव र रामचन्द्र झालाई अवसरवादी नेताको संज्ञा दिदै साहले भने ,‘अब यस्ता नेताहरुले देश बनाउँछौ भन्दैछन्। के त्यो सम्भव छ ?’
कानुनमन्त्री लीलानाथ श्रेष्ठले विदेशी शक्तिको गोटी बनेर नेकपा भित्रै केही नेताले कम्युनिस्ट नेतृत्वको २/३ तिहाइको सरकार ढाल्ने षडयन्त्र गर्दा देश अहिलेको विषम परिस्थितिमा पुगेको बताए।
उनले प्रधानमन्त्री ओली मुलुककै ऐतिहासिक, साहसी र राष्ट्रवादी पुरुष भएको जिकिर गरे। महिला बालबालिका तथा समाज कल्याण्मन्त्री जुली कुमारी महत्तोले पनि संसद पुर्नस्थापनाको सपना नदेख्न आन्दोलनमा रहेका दललाई आग्रह गरिन्।अन्नपूर्णबाट































प्रतिक्रिया