१५ औँ हस्तकला व्यापार मेला सम्पन्न

१५ औँ हस्तकला व्यापार मेला सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले उद्यमीलाई कच्चा पदार्थ आयातदेखि उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्ने भएको छ ।

नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरिएको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको समापन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले मुलुकमा उद्यमशीलताको विकास गर्न व्यवसायीलाई सहुलियत ऋणमा कर्जा, भन्सारमा छुटको व्यवस्था गरी औद्योगिक वातावरण कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपालमा अमूल्य कला कृति निर्माण गर्न सक्ने सीप रहेकाले यस क्षेत्रमा निर्भर भई व्यवसाय सञ्चालन गर्ने उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । देशको विकास र समृद्धिका लागि निजी क्षेत्रको ठूलो महत्व रहेको उल्लेख गर्दै उहाँले उद्यमीलाई उद्योग स्थापना गर्न विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने झन्झट रहेकाले सोको सञ्चालनका लागि सरकारले सबै काम एउटै निकायबाट पूरा हुने गरी व्यवसायीलाई सहजता प्रदान गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

महासङ्घ प्रदेश नं. ३ का सदस्य शोभा शाक्यले हस्तकलाको व्यवसायले हाम्रा मौलिक परम्परालाई जगेर्ना गरेकाले सरकारले त्यसको संरक्षण नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले अन्तर्राष्ट्रिय बजारको माग अनुरुप गुणस्तरीय वस्तु उत्पादन गर्नुपर्ने र यसका लागि सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

मेलामा धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज तथा काठका वस्तु, सेरामिक, उलन, बाँसका वस्तु राखिएका थिए । मेलामा सात प्याभिलियनसहित करिब २०० कक्ष थिए । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको बिक्रीकक्ष राखिएका थिए ।

स्वदेशमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत लगायत मुलुकमा निर्यात हुँदै आएको छ । आन्तरिक बजारमा करिब १० अर्बको हस्तकला सामग्रीको कारोवार हुने गरेको बताइएको छ । यस क्षेत्रले देशभर करिब ११ लाख मानिसलाई रोजगारी दिइरहेको जनाइएको छ ।

हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको महासङ्घले जनाएको छ । उक्त कार्यक्रममा हस्तकला प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा व्यक्तिलाई पुरस्कृतसमेत गरिएको थियो ।

Skip This
Skip This
Logo