काठमाडौं,
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना जहाज तथा अन्य यातायातका साधनमा भ्रमण वर्षका लागि प्रतीक चिह्न राख्न शुरु गरेको छ ।
निगमको गत मङ्सिर ५ गते भएको बैठकले सबै जहाज तथा सवारी साधनमा प्रतीक चिह्न राख्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि निगमले विज्ञप्ति जारी गर्दै निगमको निर्णय अनुरुप सम्बन्धित विभागलाई भ्रमण वर्षको प्रतीक चिह्न राख्ने काम तत्काल लागू गर्न निर्देशन दिएको थियो ।
सोही निर्णय अनुरुप निगमले सबै सवारी साधनमा भ्रमण वर्षको प्रतीक चिह्न टाँसिसकेको छ । आन्तरिक उडानका सबै आठ जहाजमा प्रतीक चिह्न राख्ने काम भइरहेको निगमका सह–प्रवक्ता सुलेश मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय उडानका जहाजमा पनि भ्रमण वर्षको प्रतीक चिह्न राख्ने प्रक्रिया शुरु भइसकेको छ । त्यस प्रयोजनका निम्ति नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर निगमले पाँच दिन अघि ग्लोबल टेन्डर आह्वान गरेको थियो ।
सात दिनभित्र आशयपत्र लिएर प्रतीक चिह्न राख्ने काम शुरु गरिनेछ । यो सबै काम अबको १५ दिनभित्र सकिने सह–प्रवक्ता मिश्रले बताउनुभयो । आजसम्म छवटा टेन्डर परेका छन् । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइडबडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाज छन् । भारतका तीनसहित सात देशका नौ गन्तव्यमा निगमले अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको निगमले भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी डिजिटल मिडिया सेलबाट फेसबुक, ट्विटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धन सम्बन्धी सामग्री प्रसारण गर्नेछ ।































प्रतिक्रिया