काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।
सोमबार काठमाडौंको बबरमहलमा बसेको नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटीको चौथो बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो । यस्तै स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निष्काशन गरेको निर्णयलाई समेत अनुमोदन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, “बैठकले यसअघि बसेको स्थायी कमिटीको प्रस्तावअनुसार ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको थियो ।” बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णयसहित अध्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको पनि उनले बताए ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमको विरुद्धका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको र अर्को चरणको संघर्षका कार्यक्रम घोषणा भइसकेको सन्दर्भमा पार्टीका सबै कमिटीहरुलाई परिचालन हुन निर्देष जारी गरेको पनि प्रवक्ता श्रेष्ठको भनाइ छ ।
यस्तै बैठकले म्यानमारमा लोकतान्त्रिक प्रणालीका विरुद्ध घटेको घटनालाई अनुपयुक्त भन्दै निन्दा गरेको थियो ।































प्रतिक्रिया