‘सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग’ : मेयर शाक्य

‘सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग’ : मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुनर्निर्माणका लागि अहिले स्वर्णयुग भएको बताएका छन् ।

आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुनर्निर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुनर्निर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’

उनले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–पर्वलाई जिवन्न राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको पनि बताए । ‘गुठियारहरुलाई सम्मान गर्ने काठमाडौँ महानगरले नीति नै बनाएको छ,’ शाक्यले भने, ‘काठमाडौँ महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरुलाई सम्मान गर्दै आएको छ । कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ ।’

शाक्यले सेतो मच्छेन्द्रनाथ लगायतका जात्रा लगायतका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको स्मरण गराए । ‘हामी सम्पदा संरक्षणका लागि सक्दो सहयोग गर्न तयार छौँ । विवाद भएका बाहेक र हामीले देखेका सबै ठाउँमा काम गर्दै आएका छौँ,’ उनले भने, ‘यति गर्दा गर्दै पनि अझै कतै बाटो निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने लगायतका काम छुटेको छ भने जानकारी दिनुहोला, हामी हाम्रै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्न तयार छौँ । म अहिले काम गर्ने ठाउँमा छु । चुनावी प्रतिवद्धता अनुसार काम गरेर देखाउन सक्छु । त्यसका लागि तयार छु ।’

चक्रपथ निर्माण नहुँदा मोनोरेलमा ढिलाई

काठमाडौं महानगरपालिकामा निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले केही प्रतिद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकार गरे । ‘त्यो मध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइनसकेकाले त्यो काम गर्न सकेनौँ,’ उनले भने, ‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण सम्पन्नको चरणमा छ । दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमण्डप निर्माण सम्पन्नको चरणमा छ ।’

चुनाव अघिको काठमाडौँको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छप्ने काम सम्पन्न भएको बताए । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ । सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको उनले बताए । ‘यद्यपि हामी प्रतिवद्ध छौँ, हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लाग्नेछौँ,’ उनले भने ।

Logo