पोखरा,
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले निष्ठावान् व्यक्तिलाई रोज्नका लागि मतदातासँग आग्रह गर्नुभएको छ ।
पोखरा महानगरपालिका–२१ स्थित ठूलीस्वाँरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल निष्ठावान् र परिपक्व व्यक्ति रहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको मत पौडेलका लागि मात्र नभएर सरकारलाई खबरदारीका लागि पनि आवश्यक रहेको बताउनुभयो । कोणसभामा उम्मेदवार पौडेल, चुनावी कमाण्डर गुरु बराल, नेताहरू धनराज गुरुङ, देवराज चालिसे, सोभियतबहादुर अधिकारी, सांसद वृन्दा देवीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा ठूलीस्वाँरा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर राना र भीमबहादुर रानाले काँग्रेस नेताहरुलाई स्थानीय समस्या बारे जानकारी गराएका थिए ।
काँग्रेसको घरदैलो अभियान जारी छ । सो अन्तर्गत आज पोखरा–२० को भलाममा उम्मेदवारसहितको घरदैलो अभियान चलिरहेको छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी गराउनुभयो ।
पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले बताउनुभयो । यस्तै पोखरा–११ मा पनि चुनाव प्रचार अभियान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समिति बनाएर अघि बढाइएको छ ।































प्रतिक्रिया