सडक बनाउन दबाब दिंदै चरिकोटमा सिठी जुलुस

सडक बनाउन दबाब दिंदै चरिकोटमा सिठी जुलुस

केन्द्रबिन्दु
0
Shares

चरिकोट,

अरनिको राजमार्ग अन्तर्गत चरिकोटबाट मुडेसम्म सडकको अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन् । निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दबाबस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन् । यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए ।

यसअघि निर्माण व्यवसायीलाई कालोपत्र गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेका थिए । उनीहरुले बनाएको ब्यानरमा निर्माण व्यवसायीको नाम लेख्दै “तपाईं मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ ” भनेर प्रश्न गरेको ब्यानर बनाएर बस तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित दबाब अभियान शुरु गरेका थिए । “हामीले पटक–पटक फरक तरिकाले काम शुरु गर्न दबाब दिँदै आएका छौँ, निर्माण कम्पनीले हाम्रो माग पूरा गर्न जोडदार माग गर्दछौँ, चरिकोटका पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्केले बताउनुभयो ।

निर्माण कम्पनीले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने, सामूहिक मुद्दा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमै निर्माण नहुँदा दोलखाको पर्यटन व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो ।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ । पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ । पहिलो चरणको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ । पहिलो चरण अन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराहीले जानकारी दिनुभयो ।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ । यो कम्पनीले म्याद सकिएको दुई वर्ष बित्दासमेत कालोपत्र शुरु गर्न सकेको छैन ।

दोस्रो चरणको सडक विस्तारमा निर्माण कम्पनीले ढिलाइ गरेको भन्दै आयोजनाले गत असारदेखि कम्पनीलाई सात करोड हर्जना लगाएको छ । “पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता नजनाएको प्रमुख बाराहीले बताउनुभयो । स्वीस सरकारको सहयोगमा वि.सं ०४३ मा खाडीचौरबाट जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।

Logo