हेटौँडा,
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताउनु भएको छ । उहाँले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गर्नुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताउनुभयो । उहाँले प्रदेशका हरेक घरमा खानेपानीको धारो हुनुपर्ने तथा हरेक घरमा बिजुली जोडिनु पर्ने उल्लेख गर्नुभयो । “हरेक घरका बालबालिकाले पढ्ने वातावरण पाउनुपर्छ ”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकासका कुनै पनि पूर्वाधारबाट कसैलाई पनि बञ्चित गर्न नहुने धारणा राख्नुभयो । उहाँले सरकारले जिल्लाको विकासमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गर्नुभयो । डेढ वर्षभित्र हेटौँडामा चिकित्साशास्त्रको अध्ययन सञ्चालन गर्ने गरी शिक्षण अस्पतालको शुरुआत भइसकेको, प्रतिवर्ष दुई हजार ५०० प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक महाविद्यालय निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
“कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइ, मलखाद, बीउ बिजन आदिको उचित व्यवस्थापन गर्नेछ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । पशुपालन, तरकारी खेतीजस्ता रोजगारमूलक कृषिका लागि अनुदान उपलब्ध गराउनुका साथै उत्पादित कृषिउपजको भण्डारणका लागि शीतभण्डार निर्माण र बजारीकरणको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया