बामाको । अफ्रिकी देश मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ ।
माली र नाइजरका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको बताइएको छ । देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
सरकारी सेनाका एक अधिकारीले भने “घटनाका क्रममा हाम्रो तर्फका मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अरू २९ जना घाइते भएका छन् ।” उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिएको र अरू सयौँलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरू नाइजर सेनाका नियन्त्रणमा रहेको जनाइएको छ ।
सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निष्कर्ष निकालिएको छ । शरद ऋतुमै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन् । माली, नाइजर र बुर्किन फासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मीहरूको बीचमा बेला बेलामा झडप भइरहने गरेको छ ।
मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ । मालीमा शान्ति स्थापनाका लागि छिमेकी केही मुलुकहरू र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरू पनि परिचालन गरिएको छ । (रासस-एएफपी)































प्रतिक्रिया