सर्वोच्चले सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

सर्वोच्चले सरकारसँग माग्यो सीमा रक्षा गर्न नसक्नुको कारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सर्वोच्च अदालतले सरकारलाई भारतले सीमाना मिच्दा आफ्नो जमिनको रक्षा गर्न नसक्नुको कारण माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजलासले शुक्रबार रिट निवेदनलाई ‘अग्राधिकार’ दिंदै सरकारसँग कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चको आदेशसँगै सरकारले आफ्नो जमिन मिचिँदासमेत रक्षा गर्न नसक्नुको कारण बुझाउनु पर्ने भएको छ।

भारतले सीमाना मिच्दा नेपाल सरकारले जमिन रक्षाका लागि कुनै पहल नचाल्नु राष्ट्रघात र राज्यविरुद्धको अपराध भएको भन्दै सर्वोच्चमा बिहीबार रिट निवेदन परेको थियो । अधिवक्ताहरु कन्चनकृष्ण श्रेष्ठ, सुजित केसी, ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन् ।

‘विवादलाई अन्तर्राष्ट्रिय अदालत र संयुक्त राष्ट्रसंघसम्म पुर्याई नेपालको भूमिको रक्षा गर्न विपक्षीहरूको नाममा उपयुक्त आज्ञा आदेश जारी गरिपाऊँ,’ निवेदकको माग छ। सुस्ता, कालापानी, लिम्पियाधुरा लगायतका भू–भाग मिचिँदा सरकार मुकदर्शक बनेर सीमामा नापजाँच गर्दै रक्षा गर्नेतर्फ कूटनीतिक पहल नगर्दा जनतालाई गम्भीर आघात परेको रिट निवेदकको दाबी छ।

२००७ सालदेखि यता पटकपटक सयौं ठाउँमा भारतले नेपालको सिमाना अतिक्रमण गर्दै आएको भूमि व्यवस्था मन्त्रालयलाई जानकारी हुँदाहुँदै पनि नजरअन्दाज गरेको रिट निवेदनमा दाबी छ। ‘नेपालको सार्वभौमिकता र अखण्डताविरुद्ध नेपाली जनतामा भ्रम छर्ने काम गर्दै आएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘के संविधानमा नेपाली भूभागमा विदेशी सेना बस्न पाउनेगरी कुनै विशेष व्यवस्था गरेको छ ? सरकार जमिनको रक्षा गर्न कुनै पनि पहल वा कदम नचाल्नु राष्ट्रघात र राज्यविरुद्धको अपराध हैन ?’
नागरिकबाट

Skip This
Skip This
Logo