३० कात्तिक । श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज शनिबार मतदान भइरहेको छ । सुरक्षा र आर्थिक सुधारको विषयलाई मुख्य एजेण्डा बनाएर उम्मेदवारहरुले मतदातासँग मत मागेका थिए ।
स्थानीय समयानुसार विहान ७ बजे मतदान सुरु भएको थियो भने, बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि देशभरी १२ हजार भन्दा बढी मतदान केन्द्र राखिएका छन् । निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित बनाउन ६८ हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । मतदान सकिना साथ शनिबार नै मत गणना सुरु गरेर आइतबारसम्ममा मत परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका छन् भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा रहेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले कुल मतदातामध्ये कम्तीमा ५० प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था रहेको छ । यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाएनन् भने शीर्ष स्थानका दुई उम्मेदवारमध्ये मतदाताले दोस्रो प्राथमिकतामा हालेको मतको आधारमा विजेता घोषणा गराउने व्यवस्था रहेको छ ।
वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई प्रतिस्थापन गर्नेगरी हुन लागेको निर्वाचनमा दुई जना उम्मेदवारहरूका बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पूर्व रक्षा सचिव गोतावाया राजापाक्षे र आवास मन्त्री सजिथ प्रेमादासका बीचमा प्रतिस्पर्धा हुने देखिएको हो । दुवै जनाले राष्ट्रिय सुरक्षा, असल शासन, आर्थिक विकासलगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । राजापाक्षेले रक्षा सचिव हुदाँ लिबरेसन तमिल टाइगरस (लिट्टे)सँग भइरहेको झण्डै तीन दशक लामो गृहयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेकाले उनले जित्ने संभावना बढी रहेको धेरैको भनाइ छ ।
अर्कातर्फ ५२ वर्षीय प्रेमादास पनि हत्या गरिएका पूर्व राष्ट्रपति रानासिंघे प्रेमादासको छोरा भएकाले त्यो सहानुभूति मत मार्फत् प्रकट हुने विश्वास गरिएको छ । उनी सत्तारुढ दलका उम्मेदवार हुन् । रानासिंघेको सन् १९९३ मा आत्मघाती हमलामा परी मृत्यु भएको थियो ।
सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछिको यो तेस्रो निर्वाचन हो । प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी भएका छैनन् । श्रीलङ्कामा २ सय ५० जना भन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि अहिले निर्वाचन भएको हो । सो घटनाका कारण राष्ट्रपति सिरिसेनाको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबनेको विश्लेषण गरिएको छ ।
इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्का गिर्जाघर र होटलहरूमा शृङ्लाबद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ ।
अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ । त्यसैले अल्पसंख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माण लगायतका विषयलाई सवै उम्मेदवारहरूले उठाएका छन् । अन्तर्राष्ट्रिय विषयमा भने दुई प्रमुख प्रतिस्पर्धीले फरक फरक धार समातेका छन् ।
राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्ने पक्षलाई लिएका छन् भने प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नु पर्ने तर्क गरेका छन् । (रासस-एएनआई)































प्रतिक्रिया