काठमाडौं,
आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो ।
दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो प्रतियोगिता पहिलोपटक नेपालबाटै शुरुआत हुनु र २० वर्षपछि आयोजना गर्ने अवसरलाई सदुपयोग गर्दै भव्य बनाउने तयारीमा युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् (राखेप), ओलम्पिक कमिटी तथा खेल सङ्घहरु रहेका छन् । सन् २०१६ मा भारतको गुहाटी र सिलोङमा सम्पन्न १२ औँ संस्करणबाट १३ औँ साग आयोजना गर्ने जिम्मेवारी प्राप्त भएको थियो ।
प्रत्येक दुई वर्षमा आयोजना हुने प्रतियोगिता ०७२ को विनाशकारी भूकम्पबाट खेल संरचनामा क्षति पुगेपछि पछाडि धकेलिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै यसै वर्ष आयोजना गर्ने उल्लेख गरेपछि प्रतियोगिता तयारी शुरु भए पनि हालसम्म केही खेलका पूर्वाधार निर्माण चरणमै छन् । तथापि साग अगावै २७ वटै खेलका संरचना तयार भइसक्ने भएकाले पूर्वाधारको अभाव नहुने सरकारले स्पष्ट पारेको छ । खेलमैदान सँगसँगै अभ्यासस्थलको समेत निर्माण सम्पन्न भएकाले तयारीका लागि कुनै बाधा नपर्ने बताइन्छ ।
गत हप्ता सागको नियमनकारी निकाय दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले तोकिएको मितिमै साग आयोजना निर्णय गरेपछि तयारी र खेल पूर्वाधारप्रतिको आशङ्कामा पूर्णविराम लागेर प्रतियोगिताको सुनिश्चितता भएको हो । प्रतियोगितालाई लक्षित गरेर खेल पूर्वाधार निर्माण, खेलस्थल तथा खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन तथा खेलस्थलको सौन्दर्यकरण लगायतका व्यवस्थापकीय तथा तयारीका कामलाई अन्तिम रूप दिइएको सरकारको भनाइ छ । देशको प्रतिष्ठा र गौरवसँग जोडिएको प्रतियोगितालाई सफल बनाउने गरी सरकारी संयन्त्र परिचालन गरिएको छ ।
खेलका पूर्वाधार, व्यस्थापन तथा टोलीको तयारी सबै हिसाबले प्रतियोगिता भव्य बनाउने सरकारी योजना छ । सागका लागि काठमाडौँमा आयोजक समिति तथा पोखरामा सहजीकरण समिति तथा उपसमितिले आ–आफ्नो जिम्माका काम गरिरहेका छन् । साग आयोजना, व्यवस्थापन तथा सञ्चालन राष्ट्रिय दायित्व भएको बताउँदै युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तयार हुन बाँकी रहेका पूर्वाधारसमेत एक साताभित्रमा निर्माण सकिने भएकाले राष्ट्रको प्रतिष्ठा रहेको साग भव्यताका साथ आयोजना गरिने बताउनुभयो ।
सागको मिति आउन दुई साता समय बाँकी रहँदा प्रतियोगितालाई कसरी भव्य बनाउने र सहभागी देशहरुबाट तयारीका बारेमा कुनै पनि प्रश्न आउन नदिने योजनामा सरकार छ । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित सरकारले प्रतियोगितालाई अविष्मरणीय बनाउने लक्ष्य अनुसार तयारी गरेको जानकारी दिँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “साग आयोजना गर्ने बक्र्यौता जिम्मेवारी वर्तमान सरकारको हो, दुई वर्ष अघि हुनु पर्ने साग वर्तमान सरकार गठनपछि डेढ वर्षमा पूर्वाधार तयार गरेर भव्य हुँदैछ, कसैले प्रश्न गर्न नपर्ने गरी सम्पन्न गर्दछौँ ।”
साग पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको बताइन्छ । प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ साग उद्घाटन गरिने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “सागका लागि पहिलो प्राथमिकता खेल पूर्वाधार हुन्, अधिकांश सम्पन्न भइसकेका छन्, अब एक÷दुई मात्र बाँकी छन्, बाँकी अवधिमा प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गरेर देशको इज्जत र प्रतिष्ठा कायम राख्छौँ ।”
प्रतियोगितामा सहभागी हुने देशका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा विदेशी पाहुनाको स्वागत तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने गरी राजधानीमा ४५ होटल बुकिङ गरिसकिएको राखेपको भनाइ छ । राजधानीको दशरथ रङ्गशाला र पोखराको फुटबल रङ्गशालाबाहेक प्रतियोगिताका लागि आवश्यक अन्य खेल पूर्वाधार सम्पन्न भइसकेकाले पनि साग भव्य हुने बताइन्छ । दशरथ रङ्गशालाको भिआइपी प्यारापिटमा छानो हाल्ने कार्य आगामी मङ्सिर ५ गतेभित्र सम्पन्न हुने र १६ हजार सिटमध्ये आधाभन्दा बढी हालिसकिएकाले अब बाहिरी सौन्दर्यकरणको काम धमाधम हुने सिलवालले जानकारी दिनुभयो ।
पोखरा फुटबल रङ्गशालासमेत आगामी मङ्सिर १० भित्रमा खेल्न मिल्ने गरी उपलब्ध हुने भएकाले पूर्वाधारको अभाव नहुने सदस्य सचिव सिलवालले बताउनुभयो । सरकारले दशरथ रङ्गशाला र पोखरामा एकैपटक साग उद्घाटन गर्ने योजना बनाएको छ । सागमा कूल २७ खेल समावेश भएकामा काठमाडौँमा १७, पोखरामा नौ र जनकपुरमा एक खेल आयोजना हुनेछ । जनकपुरमा कुस्ती खेल हुनेछ भने पोखरामा महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, आर्चरी, भारत्तोलन, प्याराग्लाङडिङ, ट्रायथलन, बीच भलिबल र ब्याडमिन्टन हुनेछ । बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् ।
पोखरामा आयोजना हुने तय भएको प्याराग्लाइडिङ खेल मङ्सिर १४ देखि २३ गतेसम्म हुने बताइए पनि प्याराग्लाइडिङ खेल हुने÷नहुनेबारे अझै टुङ्गो लागिसकेको छैन । व्याडमिन्टन खेल मङ्सिर १५ गतेबाट पोखरास्थित व्याडमिन्टन कभर्डहलमा हुनेछ भने महिला क्रिकेट १६ गते पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदान तथा आर्चरी १६ गतेबाट शुरु हुनेछ । बीच भलिबल र भारोत्तोलन खेल १९ गतेबाट पोखरामा हुनेछन् ।
भलिबल पोखराको बाराहीघाटस्थित बीच भलिबल कोर्टमा हुनेछ भने भारोत्तोलन खेल माटेपानीस्थित एक क्याटरिङको हलमा हुने साग पोखरा प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिनुभयो । महिला फुटबल मङ्सिर १९ बाट शुरु भएर २४ गते सकिनेछ । महिला पुरुष ह्याण्डबल १८ गतेबाट शुरु हुनेछ । साग औपचारिक उद्घाटन अगावै मङ्सिर १३ गतेबाट पुरुष तथा महिला भलिबल र उसुका खेल शुरु हुनेछन् । भलिबल त्रिपुरेश्वरस्थित कभर्डहल तथा उसु लगनखेलस्थित आर्मी कभर्डहलमा हुने तालिका रहेको छ ।
रासस





























प्रतिक्रिया