रुप ज्योतिविरुद्धको प्रतिवेदन प्रहरीलाई फिर्ता

रुप ज्योतिविरुद्धको प्रतिवेदन प्रहरीलाई फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ठगी मुद्दामा पक्राउ परेका व्यवसायी डा. रुप ज्योति र उनकी छोरी सुरुचिविरुद्ध तयार पारी पेस भएको अनुसन्धान प्रतिवेदन सच्याउन जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीलाई फिर्ता पठाएको छ।

ठगी मुद्दामा अनुसन्धानमा जुटेका काठमाडौं प्रहरी परिसरले बुधबार कार्यालयमा बुझाएको अन्तिम प्रतिवेदनमा आधारभूत पक्ष नै उल्लेख गर्न छुटेको भन्दै सच्याई पेस गर्न बिहीबार फिर्ता पठाएको हो।

पीडित भनिएका वीजेन्द्रकृष्ण मल्लले आफूले रकम फिर्ता पाउने सर्तमा मिल्न तयार भएको बताउँदै सरकारी वकिल कार्यालयमा बिहीबारै निवेदन दिनुभएको छ। सरकारी वकिल कार्यालयले मल्लको निवेदनसमेत प्रहरीको अनुसन्धान फाइलसँगै फिर्ता पठाएको छ।

‘पीडित पक्षले रकम नपाएको भन्दै निवेदन दिएका छन्। तर, त्यस अनुसार ठगी भन्ने बेहोरा प्रस्ट खुल्न नसकेपछि फिर्ता पठाइएको हो।’ –सरकारी वकिलको कार्यालयले बतायो । गत बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो।

ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ गर्न अनुमति दिइसकेको छ । ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परे अनुसार उहाँलाई पक्राउ गरिएको हो। व्यवसायी रुप ज्योति र छोरी सुरुचि ज्योतिविरुद्ध हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आइतबार दिएको पाँच दिनको म्याद आज शुक्रबार सकिँदैछ। प्रहरीले अब थप अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा बुझाउनु पर्नेछ।

प्रहरीले बुझाएको फाइलका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चल्ने वा नचल्ने निर्णय गर्छ। मुद्दा चल्ने देखिएमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ।

हाउजिङ कम्पनी ल्यान्डमार्क डेभलपर्स प्रालिमार्फत घर बनाउने बैना लिएर आफूलाई घर नदिई ठगी गरेको भन्दै रुप ज्योति परिवारविरुद्ध काठमाडौं प्रहरीमा गत वर्षको मंसिर १६ गते वीजेन्द्रकृष्ण मल्लले जाहेरी दिनुभएको थियो।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo