काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १ सय ९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने पनि जानकारी गराएका छन् ।
महाशाखाले आज मात्र ती मध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यस अघि नै सूचना जारी गरी पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको जानकारी दिए । उनका अनुसार भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेकाले यसमा पनि कोभिड–१९ जस्तै लक्षण देखिन्छ । तथापि यसको सर्ने क्षमता भने अलि बढी रहेको हुन्छ ।
डा अधिकारीका अनुसार कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा बढी असर गर्दछ । महाशाखाका निर्देशक डा पाण्डेले पिसिआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती संक्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ ।





























प्रतिक्रिया