काठमाडौं,
नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) –०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ ।
सो खेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा ६ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का रहनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ ।
काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछन् । साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका ६ हजार, विशेष प्रहरीका करिब दुई हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।
खेलमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ । साग खेलकुदमा अफगानिस्तान भने सहभागी हुने छैन । केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार काठमाडौँमा २९, ललितपुरमा ११, पोखरामा नौ र जनकपुरमा (कुस्ती) एउटा खेल प्रतियोगिता आयोजना हुनेछन् । ती खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौँमा करिब १० हजार, ललितपुरमा सात हजार, पोखरामा दुई हजार सात सय र जनकपुरमा एक हजार सातभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।
गोरखापत्रबाट































प्रतिक्रिया