चितवन,
भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।
यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
बुधबार बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी अष्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षण कर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरुमार्फत राम्रो सन्देश जाने छ । उनीहरुको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारौं जनतालाई यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।
भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताउनुभयो । नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उहाँले वास्तविक यहाँको रमाईलोपन ७१ देशका प्रतिनिधिले एकै साथ पाएका उहाँको भनाइ छ ।
यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढाउन सकिने डल्लाकोटीले बताउनुभयो । सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताउनुभयो । सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदैछ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदैछ । उनीहरु मार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्नेछ ।
रासस































प्रतिक्रिया