दार्चुला । दार्चुलाको शिखर जात्रा जाने दर्शनार्थीहरुलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय धामी (क्षेत्री) उत्थान समाज नेपालले शिखर पूजा गर्न जाने दर्शानार्थीहरुलाई फलफूल वितरण गरेको हो । राष्ट्रको सातौं धाम शिखर धुराको पुन्य भूमिको रुपमा रहेको शिखर जात्राबाट फर्किएका श्रद्धालु भक्तजनहरुलाई समाजले फलफूल वितरण गरेको हो ।
फलफूल वितरण कार्यक्रमको शैल्य शिखर नगरपालिकका मेयर अमर सिंह धामी र मालिकार्जुन मन्दिरमा मुख्यासाप रुद्रसिंह धामीले उद्घाटन गरेका थिए । कार्यक्रममा शिखर पुजन यात्राबाट फर्किएका एक हजार भन्दा बढी भक्तजनहरुलाई फलफूल वितरण गरिएको प्रस्तावित राष्ट्रिय धामी (क्षेत्री) उत्थान समाज नेपालका संयोजक कमानसिंह धामीले जानकारी दिए ।
साथै मालिकार्जुन स्वास्थ्य चौकी मड, दार्चुलाले शिखर पुजनबाट फर्किएका दर्शनार्थीहरुको स्वास्थ्य परिक्षण समेत गरेको थियो । स्वास्थ्य चौकीले शिखर पुजनबाट फर्किएका ५० जना भन्दा बढीले स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकीका इन्चार्ज तेज रावतले जानकारी दिए । स्वास्थ्य चौकीले मालिकार्जुन जात्राको अवसरमा समेत स्वास्थ्य शिविर राखिने इन्चार्ज रावतको भनाई छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल त्रयोदशी तथा असार शुक्ल त्रयोदशीका दिन शिखर धाममा पुजन यात्रा हुने गर्दछ । शिखर पुजनको भोलिपल्ट मालिकार्जुनमा ठूलो जात्रा लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर शैल्य शिखर धामको दर्शन गर्न ब्रतबन्ध तथा विवाहित महिला पुरुष जाने प्रचलन रहि आएको छ ।
शिखर दर्शन गर्नको लागि कम्तिमा एक हप्ता अगाडिदेखि नै शुद्ध भएर तयारी गर्नुपर्छ । शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको धार्मिक मान्यता रहेको छ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भईं पूर्ण प्राप्ति हुने, मनोकामना पूरा हुने र निःसन्तानलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहि आएको छ ।

राष्ट्रिय धामी (क्षेत्री) उत्थान समाजको सक्रियता
गठनको प्रक्रियामा रहेको समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । गौरा पर्वका अवसरमा काठमाडौंको टुँडीखेलमा आयोजित गौरा पर्व विशेषमा निःशुल्क पानी वितरण गर्दै सामाजिक कार्यको सुरुवात गरेको समाजले मालिकार्जुन जात्रामा पनि विशेष भूमिका खेल्ने संयोजक धामीको भनाई छ ।

कात्तिक २५ गते राति लाग्ने मालिकार्जुन जात्रामा समाजमा अढाई सय बढी स्वयमसेवक खटाईने छन् । विगतका वर्षहरुमा विकृतिको रुपमा देखिने गरेको जात्रामा मदिरा सेवनलाई यो पटक पूर्ण रुपमा नियन्त्रण गरिने संयोजक धामीले बताए । मदिरा सेवन गर्न तथा बेच विखन गर्न प्रतिबन्ध लगाइएको उनको भनाई छ । प्रहरीसँगको सहकार्यमा समाजका स्वयमसेवकहरुले जात्रालाई व्यवस्थित गर्ने योजना बनाएका छन् ।































प्रतिक्रिया