काठमाडौं,
प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता एवं लौहपुरुष गणेशमान सिंहको १०५ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । जन्म जयन्तीको अवसरमा आज नेपाली कांग्रेसले विभिन्न ठाउँमा कार्यक्रमहरुको आयोजना गरी गणेशमान सिंहको स्मरण गर्दैछ । आज विहान काठमाडौंको शोभा भगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गरिने कार्यक्रम छ ।
वि.सं. १९७२ साल कार्तिक २४ गते जन्मिएका सिंहको ०५४ असोज २ गते निधन भएको थियो । सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । गणेशमानले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक अर्का नेता वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए ।
राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कु’पछि पनि वीपी र गणेशमान सँगै आन्दोलनमा रहेका थिए ।
विपरित धारमा रहेका कम्युनिष्टहरुसँग कार्यगत एकता गर्दै २०४६ सालको आन्दोलन हाँकेका गणेशमान सिंहलाई लौह पुरुषको उपनामले पनि चिनिन्छ । वि.सं ०४६ सालको जनआन्दोलनमा सिंहको भूमिकालाई अविस्मरणीय मानिन्छ । उनले नै त्यो ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गर्नका लागि अतुलनिय योगदान दिएका थिए ।































प्रतिक्रिया