काठमाडौं,
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन् । आगामी मंगलबार उनी तीन दिने नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको हो । राष्ट्रपति हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने बताइएको छ । यस्तै उनले हमिदको सम्मानमा रात्रिभोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि परराष्ट्रको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रपति हमिदले काठमाडौंँका विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको भ्रमण गर्नुका साथै पोखराको पनि भ्रमण गर्नेछन् । उनी शुक्रबार स्वदेश फर्किनेछन् ।































प्रतिक्रिया