डडेल्धुरा,
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन पाँचौ दिन पुग्दासम्म सरकारले वेवास्ता गरेको भन्दै शुक्रबार डडेल्धुराबासीहरु सडकमा उत्रिएका छन् ।
नागरिक समाज डडेल्धुरा र जिल्लास्थित पेशाकर्मी एवं व्यवसायीक संघ सस्थाहरुको अगुवाइमा सदरमुकामस्थित बसपार्कबाट वृहत दबाब र्याली निकालिएको छ । र्यालीमा सहभागीहरुले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा परिसर पुगेर नाराबाजी र प्रदर्शन समेत गरेका छन् । ‘डाक्टर गोविन्द केसीले राखेका सम्पूर्ण मागहरु पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल कलेजका लागि निर्णय गर तथा सत्याग्रही डा. केसीको जीवनको रक्षा गर’ लगायतका नारा लगाएर स्थानीय सडकमा उत्रिएका हुन् ।
व्यवसायीक तथा पेशागत संघ संस्थाहरुले डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई संयुक्त रुपमा ज्ञापन पत्र पनि बुझाएका छन् । ज्ञापन पत्र बुझाइ सके पश्चात कोण सभाको आयोजना समेत गरिएको थियो । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधीकारी पौडेलले डा. केसीको मागप्रति एेक्यबद्धता जनाउदै माग सम्बोधन गराउनका लागि आफूले सक्दो पहल गर्ने बताए ।
स्वास्थ्य अवस्था प्रतिकुल हुदै गएका सत्याग्रही डा. केसीका सबै मागहरु न्यायोचित रहेकाले उहाँको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको नागरिक समाजका अगुवाहरु बताउँछन् । प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै दाबाबमुलक र्याली निकालिएको र सरकारले माग सम्बोधन गर्न वेवास्ता गरेमा कडा आन्दोलनमा उत्रिने र्यालीमा सहभागी स्थानीय समाजसेवी पदमा गुरुङले बताइन । दबाब ¥यालीमा सुदूरपश्चिम प्रदेशका सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल समेत सहभागी थिए । बिहिबार पनि नागरिक समाजको अगुवाइमा डडेल्धुरा सदरमुकाममा र्याली निकालिएको थियो ।
डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय अगुवाहरुले सत्याग्रह स्थल पुगेर डा. केसीलाई भेट्दै ऐक्यबद्धता जनाइरहेका छन् । यसअघि डोटीका बिभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका थिए। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा बुधबार डडेल्धुरा पुगेको टोलीले डा. केसीले राखेका मागमा ऐक्यबद्धता जनाएको हो। सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका थिए।
शुक्रबारनै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले अनशनरत डा. केसीलाई भेटेका छन् । शुक्रबार दिउँसो अनशनरत केसीलाई भेटेर उनले अनशनप्रति ऐक्यबद्धता समेत जनाएका हुन् । उनले डा. केसीको अनशनप्रति आफ्नो र पार्टीको सुरुदेखि नै समर्थन रहेको बताए । केसीले उठाएका मेडिकल शिक्षालाई गुणस्तरीय, सर्वसुलभ र सबैले पढ्न सक्ने बनाउनुपर्छ भन्ने माग जायज भएको नेता बडूले बताए । उनले डा. केसीले पठाएका सात बुँदे मागहरु सरकारलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न आग्रह समेत गरे ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया