काठमाडौं ।
विगत नौं महिनादेखि कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा ठूलो असर पुर्याएको छ । कोरोना महामारीको प्रभावले करिव ८ महिनासम्म मुलुकको उद्योग व्यापार व्यवसाय पुर्णरुपमा बन्द भएका थिए भने अधिकांश उद्याेग व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् ।
विगत केही महिनादेखि कोरोना महामारीका बीच पनि उद्योग व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । उद्योग व्यापार व्यवसाय सञ्चालनमा आएसँगै अर्थतन्त्र पनि चलायमान हुने अवस्थामा पुगेको छ । त्यस्तै कोरोना प्रभावले अगाडि बढ्न नसकेको हजारौं विकास निर्माणको आयोजनाहरुको कामले पनि गति लिन थालेका छन् ।
तर यहि बीचमा देशमा राजनीतिक घटनाक्रम अस्थिरतातिर जान थालेको छ । गत आइतबार (पुस ५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरे पश्चात मुलुकमा राजनीतिक अस्थिरता देखिन थालको हाे।
कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई थप माथि उठाउनका लागि सरकारले उचित कदम चाल्नु पर्ने अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमले देशको राजनीति तथा आर्थिक क्षेत्रमा अस्थिरता निम्त्याउन सुरु गरेको छ ।
अहिलेको राजनीतिक घटनाक्रमले लगानीकर्ताको मनोबल धरमराउने देखिएको अर्थविद् केशव आर्चायले बताएका छन् । उनका अनुसार भर्खरै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन उद्योग वाणिज्य संघको निर्वाचन भएर रोजगारी र नयाँ लगानीमार्फत आर्थिक गतिविधिलाई माथि पुर्याउने लक्ष्य थियो । यता शेयर बजारले पनि एउटा गति लिरहेको थियो । बैंकमा भएको तरलता पनि घटिरहेको थियो । कोरोना महामारी मारबाट अर्थतन्त्रले भर्खरै बौरिन थालेको थियो । तर अहिलेको यो परिस्थितीले निजी क्षेत्रका लगानीकर्ताहरुलाई एकदमै अन्योल पैदा गरेको उनले बताएका छन् ।
यसले गर्दा अब लगानीकर्ताले लगानी गर्दा दीर्घकालिन लगानी गर्ने कि नगर्ने, अर्को सरकार आएपछि कस्तो अर्थनीति अवलवन गर्दछ, अहिलेको दुई तिहाइ बहुमतसहितको सरकार बन्दा पनि राजनीतिक स्थायीत्व र त्यहाँबाट आउने नीतिमा दीर्घकालिन स्थायीत्व नदेखिएकाले निजी क्षेत्रलाई उद्योग व्यवसायमा भन्दा व्यापार मात्रै गर्ने सोच आउने उनको भनाई छ ।
अहिलेको सरकारले पछिल्लो समय विकास निर्माणका कामहरु पनि धमाधम गरिरहेको, नयाँ परराष्ट्र नीति ल्याएकाे, कृषिमन्त्रीले कृषि क्षेत्रको लागि नयाँ नीति ल्याएको बताउँदै उनले भने,‘अब यस्तो राजनीतिक घटनाले सबै नीति खेर जाने र किसान, जलविद्युत लगानीकर्ता पनि मर्कामा पर्छन् ।’ अहिलेको विषम परिस्थितिमा कोभिड–१९ को खोप किन्ने र भण्डारण गर्ने ठाउँका लागि सरकारसँग र निजी क्षेत्रसँग ठाउँ र पर्याप्त पैसा नभइरहेको अवस्थामा चुनाव भएमा अर्बौं खर्च हुन्छ । यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ ।
त्यस्तै, चुनाव हुने भयो भने नेपालका निजामति कर्मचारीहरुले कुनै पनि निर्णय नगरी जनताको काममा ढिलासुस्ती गर्ने तथा देशमा भष्ट्रचार बढ्ने अवस्था आउनाले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने पनि उनको भनाई छ । कोभिडको महामारी नियन्त्रणका लागि खर्च गर्नु पर्ने रकम खर्च हुने र चुनाव हुने भएपछि राजनीतिक पार्टीका नेताहरु निजी क्षेत्रहरुसँग चन्दा माग्न जाने भएकाले पनि निजी क्षेत्रलाई थप मार थपिने देखिएको उनले बताए ।
त्यस्तै, अर्थविद् विमल कोइरालाले कोरोना महामारीका कारण नेपालको अर्थतन्त्र प्रभावित भइरहेको छ । यसै समयमा पाँच वर्षको म्यान्डेट पाएको सरकार अचानक अस्थिर बन्न पुगेको छ । अहिलेको राजनीति उथलपुथलले अर्थतन्त्रमा ठूलो असर परेको उनले बताएका छन् । नेपाल विगत ९ महिनादेखि कोभिड–१९ का कारण आर्थिक चपेटामा परेको छ । यस्तो बेलामा देशमा भएको राजनीतिक अस्थिरताले अर्थ व्यवस्थामा गम्भीर असरले उद्योग व्यवसायमा लगानी गर्न अन्योल सृजना हुने उनको भनाई छ । लगानी गर्नेले लगानीको सुरक्षा चाहन्छन् । अस्थिर राजनीतिमा त्यो संभव हुँदैन । खर्च गर्नेले पनि देशमा अस्थिर भएको अवस्थामा खर्च गर्न नसक्ने उनको भनाई छ ।
त्यस्तै, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पनि जनताले पाँच वर्षका लागि नेकपालाई दिएको जनादेशलाई कुल्चिएर प्रधानमन्त्रीले चालेका कदमले देशको राजनीतिमा मात्र नभएर अर्थतन्त्रमा पनि ठूलो असर पारेको बताएका छन् ।
विगत ९ महिनादेखि कोभिड–१९ ले देशको अर्थतन्त्रलाई तहसनहस बनाएको अवस्थामा देशमा राजनीतिक अस्थिरता भएकाले आफ्नो पार्टीको आन्तरिक कलहले जनतालाई बन्दी भएको तथा अर्थतन्त्र पछाडि धकेलिएको उनको भनाइ छ ।































प्रतिक्रिया