उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन

उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचन (प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तह) का सन्दर्भमा आइतबार आयोगमा सम्पन्न उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “उप निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा संलग्न हुने सबै तहका जनशक्तिलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय सुरक्षा समितिका संयोजक ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनमा सुरक्षा निकायबीच समन्वय कायम गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आयोगका सहसचिवको नेतृत्वमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिने जानकारी दिँदै केन्द्रमा चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने जानकारी दिनुभयो । उहाँले एकीकृत सुरक्षा योजना पनि कार्यान्वयन हुने बताउनुभयो ।

बैठकमा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले समग्र सुरक्षा योजना प्रस्तुत गर्नुभएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीले आ–आफ्ना निकायबाट तयार गरिएका उपनिर्वाचन सुरक्षा योजनासमेत पेश गर्नुभएको थियो ।

बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, रक्षा सचिव रेश्मीराज पाण्डे, आयोगका सचिव देवकुमारी गुरागाईं, नेपाली सेनाका रथी गौरब तण्डुल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी लगायतको उपस्थिति थियो ।
रासस

Skip This
Skip This
Logo