काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी विहिबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए।
अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस गरेको उनको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वास्थ्य समस्यामा नरहेको आत्मविश्वास देखाउँथ्यो । उनी हाँस्दै गाडी चढेका थिए ।
शीर्ष नेताद्वारा स्वास्थ्यलाभको कामना
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली स्वास्थ्य उपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेतृत्वले भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए । प्रधानमन्त्रीलाई अध्यक्ष ‘प्रचण्ड’ले भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतले भेट गरी स्वास्थ्य लाभको कामना गरे । अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सर्वसाधारण, पार्टी कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ : अस्पताल
ग्राण्डी इन्टरनेशनल अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण र उपचारका क्रममा ‘हेमोडायलासिस’ मात्र गरिएको जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको बताउनुभयो । प्रधानमन्त्री भोलिदेखि नै नियमित काममा फर्कन सक्ने उनले विश्वास दिलाए ।
प्रधानमन्त्रीलाई सघन उपचार कक्ष (आइसियू) मा नराखिएको अस्पतालले प्रष्ट पारेको छ । प्रधानमन्त्रीलाई हेमोडायलासिस गर्ने क्रममा आइसियू कक्षको डायलासिस गर्ने कोठामा मात्र राखिएको डा पाण्डेले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै प्रकारको सङ्क्रमण हुन नपाओस् भनेर सुविधा सम्पन्न कक्षमा डायलासिस गरिएको हो”, उहाँले भन्नुभयो, “बाहिर आए जस्तो आइसियूमा राखिएको होइन ।”
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने बारेमा विज्ञसँगको राय सुझावका आधारमा उनको चिकित्सकीय टोलीले निर्णय लिने बताइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासिस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना भएका थिए ।
रासस































प्रतिक्रिया