काठमाडौं,
भारतबाट पाइपलाइन मार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्याँस पनि पाइपलाइनबाट ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्याँस ल्याउन पाइलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सहमति भएको हो । मोतीहारी–अमलेगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।
करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ। निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो । ‘पाइपलाइन निर्माण गर्न सहमति भएपछि संयुक्त रुपमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका छौं,’ उनले भने, ‘अब जिटु जी गरेरपछि निर्माण प्रक्रिया अघि बढ्छ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पाइपलाइन बिछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर शनिबार गाड्ने छन् । ‘विस्तृत अध्ययन सकिएकाले रुट तोक्ने काम मन्त्रीबाट सुरु गर्न लागिएको हो,’ पौडेलले भने, ‘शनिबार मन्त्रीज्यूले पाइप बिछ्याउने रुटमा पिलर गाड्नु हुन्छ।’
ग्यास, पेट्रोलियम पाइपलाइन र चितवनमा भण्डारण स्थल निर्माणका लागि २४ अर्ब ८६ करोड रुपैयाँ लाग्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। भट्टराईका अनुसार मोतीहारीबाट अमलेखगन्ज हुँदै चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्न ११ अर्ब १९ करोड र ग्यास भण्डारण स्थल निर्माण गर्न तीन अर्ब ८१ करोड रुपैयाँ लाग्ने छ। त्यसैगरी, अमलेखगन्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न पाँच अर्ब ६७ करोड र चितवनमा पेट्रोलियम भण्डारण स्थल बनाउन चार अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ। मुलुकको आवश्यकतालाई ध्यानमा राखेर पाइपलाइन विस्तार गर्न लागिएको भट्टराईले बताए। ‘वर्षौंदेखि पाइपलाइन विषयमा गृहकार्य गर्दै आएका थियौं,’ भट्टराईले भने, ‘अब यसले मूर्त रुप लिने भएको छ।’
नागरिकबाट































प्रतिक्रिया