उपकुलपतिका लागि मागियो वैयक्तिक विवरण

उपकुलपतिका लागि मागियो वैयक्तिक विवरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिकरूपमा वैयक्तिक विवरण माग गरिएको छ । विश्वविद्यालयको उपकुलपतिका लागि वैयक्तिक विवरण आह्वान गरी रोष्टर तयार गर्न लागिएको नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो घटना हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि इच्छुकहरूले सात दिनभित्र वैयक्तिक विवरण पठाउन आह्वान गरेको छ ।

शिक्षामन्त्री तथा विश्वविद्यालयहरुका उपकुलपति सिफारिस समिति (सर्च कमिटी) का संयोजक गिरिराजमणि पोखरेलले इच्छुकहरुसँग वैयक्तिक विवरणका लागि सार्वजनिक आह्वान गरिएको जानकारी दिँदै भन्नुभयो, “योग्य व्यक्तिबाट आवेदन पर्नेछन् भन्ने विश्वास गरेका छौँ । त्यसका आधारमा रोष्टर बन्नेछ । त्यही रोष्टरका आधारमा उपकुलपतिका लागि नाम सिफारिस गरिनेछ । ” उहाँले योग्य व्यक्ति कतिपयले रोष्टरका लागि आवेदन दिन नचाहेमा आफूहरुले आवेदन दिनका लागि आग्रह गर्ने बताउनुभयो ।

उपकुलपतिबाहेक पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष तथा नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोग अध्यक्ष र सदस्यहरूका लागि पनि यसैगरी आवेदन आह्वान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका साथै तीन विश्वविद्यालयका उपकुलपति छनोट गर्न गत भदौमा नै सर्च कमिटी गठन गरिएको थियो । सर्च कमिटीले गत महिना त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. धर्मकान्त बाँस्कोटा र डा. चन्द्रमणि पौडेलको नाम कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो । त्रिवि, पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयमा गत भदौ ५ गतेबाट र मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा असोज ६ गतेबाट उपकुलपति रिक्त छन् ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo