राजविराज,
विभिन्न प्रयोजनका लागि विदेश जान राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दैनिक तीन गुणा बढीको संख्यामा राहदानीको आवेदन दर्ता भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक एक सयदेखि एक सय पचास जनाले राहदानी बनाउनको लागि आवेदन दिन आउने गरेको राहदानी शाखाका नायब सुब्बा तोमप्रसाद दाहालले जानकारी दिनुभयो । डाइभर्सिटी भिसा (डिभी) को आवेदनका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी बनाउनेहरुको संख्या दैनिक तेब्बरले बढेको उहाँले भन्नुभयो, यस अघिसम्म दैनिक ४०/५० जना राहदानीको लागि आवेदन दिन आउने गरिन्थ्यो ।
डाइभर्सिटी भिसासँगै विदेशमा रोजगारी, चिकित्सक अध्ययनका लागि राहदानी अनिवार्य गरेकोले राहदानी बनाउनेहरुको संख्या बढेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत आनन्द ठाकुरले भन्नुभयो, बैदेशिक रोजगारका लागि मलेसिया जान सम्झौता भएको, डिभी आवेदन र विदेशमा चिकित्सक अध्ययनमा राहदानी अनिवार्य गरेकाले राहदानी बनाउनेको तेब्बर चाप बढेको हो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा दुई हजार ८१ वटा आवेदन दर्ता भइसकेको छ । दर्ता मध्येमा राहदानी बनेर आएकाहरुले लगिसकेको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा साधारण चार हजार सात र द्रुत सेवाबाट एक हजार ६४५ गरी आठ हजार १९७ जनाले राहदानी लिएको शाखाका नासु दहालले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष ०७४/०७५ मा छ हजार ४८, आर्थिक वर्ष ०७३/०७४ मा १० हजार ७६ जनाले एमआरपी लिएका छन् भने आर्थिक वर्ष ०७२/०७३ मा १३ हजार ४९५ जनले एमआरपी लिएको जिल्ला प्रशासान कार्यालय सप्तरीले जनाएको छ । एमआरपी बनाउन साधारण तर्फ पाँच हजार र द्रुत सेवा अन्तर्गत १० हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया