पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले ९ वटा गोली हानी हत्या गरेको जनाएको छ। आयोगको सोमबार बसेको बैठकले प्रहरी अनावश्यक बल प्रयोग गरी पौडेलको हत्या गरेको ठहर गरेको हो ।

पौडेलको सर्लाहीको लालवन्दी –१ स्थित लखन्देही जंगलनजिक कच्ची सडकको बाँसघारीमुनि प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घटनामा प्रहरी प्रधान कार्यालय निर्देशनमा प्रदेश २ कार्यालयको समन्वयमा समेत परिचालित प्रहरीले उनलाई नियन्त्रणमा लिए पश्चात हत्या गरेको जनाएको छ।

‘अनावश्यक बल प्रयोग गरी ९ वटा गोली हानी मारिएको, प्रहरीले आत्मरक्षा र दोहोरो भीडन्त भनी दाबी गरेकोमा दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको र घटनाको प्रकृति, संकलित प्रमाण समेतबाट निजलाई नियन्त्रणमा लिई मारिएको आयोगको अनुसन्धानबाट देखियो,’ आयोग प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीबाट घटनाको निष्पक्ष अनुसन्धान नभएको, घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का तयार गर्दा समेत त्रुटि भएको देखियो।’

आयोगले घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारी, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिमाथि समेत अनुसन्धान गरी कानुनको दायरामा ल्याई कारबाही गर्न सरकारलाई भनेको छ। घटनामा प्रत्यक्ष संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन र प्रहरी निरीक्षक किरण प्रसाद न्यौपाने र प्रहरी नायवनिरीक्षक सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्का गर्दा त्रुटिपूर्ण तबरले कार्य गरेकोले सचेत गराउन आयोगले भनेको छ।
नागरिकबाट

Skip This
Skip This
Logo